भरत केसी/रासस
लुम्बिनी । नेपालले तत्कालीन विश्वको शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको आज वैशाख ७ गते गौरवपूर्ण दिन हो । विसं १८७१ वैशाख ७ गते आजकै दिन बुटवलस्थित जितगढी किल्लामा नेपाली सेनाले आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई परास्त गर्दै राष्ट्रिय स्वाभिमानको अद्वितीय इतिहास रचेको थियो ।
जितगढीमा अङ्ग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन १८७१ वैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको २०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउँदै आएको छ । जितगढीमा १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग हारेपछि अङ्ग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ । सोही दिन (वैशाख ७ गते)लाई विजयोत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले मनाउन थालेको हो ।
बुटवल उपमहानगरपालिकाले यस वर्ष पनि आज विजयोत्सवलाई विशेष रूपमा मनाउन गढी स्थलमा भव्य कार्यक्रमको आयोजना गरेको छ । विजयोत्सव कार्यक्रममा नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोली आइपुग्ने छ । उक्त टोलीलाई बुटवल उपमहानगरपालिका र नेपाली सेनाको टोलीले स्वागत गर्ने कार्यक्रम छ ।
गोरखाको हनुमान भञ्ज्याङबाट सुरु भएको ‘गोरखा–जितगढी पदयात्रा’ आज जितगढी किल्लामा आइपुग्दैछ । नेपाली सेनाको सहभागितामा हुने कार्यक्रम, सांस्कृतिक प्रस्तुति र वीरताको स्मरणले किल्ला परिसर उत्सवमय बन्नेछ ।
युद्धमा कर्णेल उजिरसिंहसहित कैयौँ नेपाली वीर योद्धाहरूले ज्यान गुमाए पनि त्यसको स्मरण अहिले पुनर्जीवित हुँदै गएको छ । लामो समयदेखि ओझेलमा परेको किल्लालाई २०७४ चैत २६ गते बुटवल उपमहानगरपालिकाको कार्यपालिकाले वैशाख ७ गतेलाई विजयोत्सवका रुपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि यसको संरक्षण र विकासको कामसँगै उजागार गर्ने प्रभावकारी प्रयास सुरु भएको थियो ।
बुटवल नगरपालिका–१ मा पर्ने यो गढी तिनाउ खोलाको बायाँ किनारमा अवस्थित छ । समुद्र सतहभन्दा करिब १४८ मिटरको उचाइमा अवस्थित यो गढी पूर्वदेखि पश्चिमतिर फैलिएको छ । गढीको दक्षिण र पूर्वतिरको भाग मात्र बाँकी छ । चारैतिरबाट गढी घेरिएको अवस्थामा छ । जितगढी किल्लाको पुरातत्व विभागबाट आव २०५५÷५६ देखि उत्खनन प्रारम्भ तथा २०७० माघ ८ गतेदेखि पुनः उत्खनन भए पनि अहिले रोकिएको छ । यसरी छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदामध्ये जितगढी पनि एक हो ।
विसं २०७४ पछि जनप्रतिनिधिहरूको पहलमा किल्लाको गुरुयोजना तयार भई संरक्षण तथा प्रवद्र्धनका काम अघि बढेका छन् । जितगढीमा अङ्ग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक रहेको छ । नेपाल अङ्ग्रेज युद्धमा बहादुरीका साथ लडेर आफ्नो ज्यान आहुति दिएका १३ वीर योद्धा कर्णेल उजिरसिंह थापासहित काजी वीरभञ्जन पाँडे (गुरुबक्स कम्पनी), कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सुर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउज, जमदार शुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ, जुठे बस्नेतलगायतको सालिक लस्करैसँग ठडिएका छन् ।
सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा अहिले हरियाली उद्यान, डिजिटल सूचना बोर्ड, राष्ट्रधुनसहितको जलफोहोरा र विशाल राष्ट्रिय झण्डाजस्ता संरचना निर्माण भइसकेका छन् । जितगढी विजयको मिति लामो समय अन्यौलको अवस्थामा रहँदा बुटवल उपमहानगरपालिकाले वैशाख ७ गतेलाई आधिकारिक ‘विजय उत्सव दिवस’ घोषणा गरेको थियो ।
इतिहासविद्हरूको अध्ययन, प्रमाण सङ्कलन र नेपाली सेनासँगको सहकार्यमा युद्धका कमाण्डर र सहादत प्राप्त वीरहरूको पहिचान गरी जितगढी क्षेत्रमा सालिक स्थापना गरिएको छ । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेना र स्थानीयको संयुक्त प्रतिरोधले अङ्ग्रेज सेनालाई परास्त गरेको इतिहासले यो स्थललाई राष्ट्रिय गौरवको केन्द्र बनाएको छ ।
पर्यटन गन्तव्य बन्दै
इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको सङ्गम बनेको जितगढी अब केवल स्मारक होइन–सम्भावनायुक्त पर्यटन गन्तव्य पनि हो । विज्ञहरूका अनुसार किल्लालाई नजिकैको मणिमुकुन्दसेन दरबार र नुवाकोट गढीसँग जोडेर एकीकृत ‘बुटवल ऐतिहासिक पर्यटन सर्किट’ विकास गर्न सकिन्छ । यसका बारेमा यहाँका पर्यटन व्यवसायीले लामो समयदेखि आवाज पनि उठाउँदै आएका छन् । यसका साथै निर्माण भएको युद्ध सङ्ग्रहालयलाई योजनाअनुरुप नै सञ्चालन गरी ऐतिहासिक युद्धको जीवित अनुभव (डेमो) प्रस्तुत गर्न सकिन्छ । पुरानो बुटवलको सांस्कृतिक स्वरूप झल्काउने संरचना पुनर्निर्माण गर्न सकिने पनि उत्तिकै सम्भावना रहेको यस क्षेत्रका अध्येता देवेन्द्रराज शाक्य बताउनुहुन्छ ।
लुम्बिनी क्षेत्रसँग जोडेर अन्तरराष्ट्रिय पर्यटन प्रवाह आकर्षित गर्ने, सार्वजनिक–निजी साझेदारीमा होटल, रिसोर्ट र सेवा पूर्वाधार विस्तार गरी पर्यटन सर्किटका रुपमा विस्तार गर्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायी तथा मणिमुकुन्द सेन उद्यान परिषद् (फूलबारी) का अध्यक्ष माधव नेपालको भनाइ छ ।
नेपालसहितका व्यवसायीले नुवाकोट गढीलाई पर्यटन गन्तव्यका रुपमा विकास गरिरहेका छन् । त्यहाँसम्म चल्ने केबुलकार समेत सञ्चालनमा छ । तिनाउ नदीको कटान, निजी संरचनाद्वारा अतिक्रमण र सीमित पूर्वाधार विकास चुनौतीका रूपमा रहेका छन् । किल्ला वरपरका जग्गा अधिग्रहण, दीर्घकालीन गुरुयोजना कार्यान्वयन र निरन्तर लगानी अत्यावश्यक रहेको यहाँका अगुवा शाक्यको सुझाव छ ।
जितगढी केवल विगतको सम्झना होइन, भविष्यको अवसर पनि हो । यदि योजनाबद्ध रूपमा संरक्षण, प्रवद्र्धन र पर्यटनसँग समायोजन गर्न सकियो भने यो स्थल बुटवल मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै प्रमुख ऐतिहासिक–पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको अर्का संस्कृतिविद् तथा पूर्वउपप्रमुख बिमलराज शाक्य बताउनुहुन्छ ।