तिलोत्तमा । होराइजन गौतम बुद्ध कलेजका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू तथा इन्टरयाक्ट क्लब अफ होरिजन जीबीएसको आयोजनामा अनाथ आश्रमका बालबालिकासँग तिज पर्व मनाइएको छ। 'प्रोजेक्ट सनसाइन' (Project Sunshine) अन्तर्गत कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा पुगेर करिब २० जना बालबालिकालाई दर खुवाउने तथा आवश्यक सामग्री हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको हो।
नेपाली नारीहरूको महान् पर्व तिजको अवसरमा बालबालिकाहरूसँग खुसी साट्ने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा आश्रमका बालबालिकाहरूलाई १० वटा तन्ना तथा आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो। सो क्रममा बालबालिकाहरूसँग विभिन्न खेलहरू खेलेर कार्यक्रमलाई थप रोचक र उल्लासमय बनाइएको थियो।
कुल ७० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता इन्टरयाक्ट क्लबकी अध्यक्ष संस्कृति काँदुले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल अविनाश अनाथ आश्रमका संस्थापकको उपस्थिति रहेको थियो। त्यसै गरी विशिष्ट अतिथिका रूपमा क्लब एडभाइजर रोटरियन डा. नारायण प्रसाद पन्थ र कार्यक्रम संयोजकका रूपमा इन्टरयाक्टर शिवानी बनिया रहनुभएको थियो।