काठमाडौं । सरकारको सीमा सुरक्षा नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्धको कारबाहीलाई तीव्र पारेको छ।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता गत २०८२ चैत १३ देखि २०८३ कार्तिक १२ गतेसम्मको अवधिमा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सार्वजनिक तथ्यांकअनुसार सो अवधिमा १७ नाल अवैध हातहतियारसहित ८ जना पक्राउ परेका छन्।
यसैगरी, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् भने उनीहरूको साथबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायतका प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ। सोही अवधिमा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका ११८ बालबालिकासहित १६७ जनाको उद्धार गरिएको र यस कार्यमा संलग्न ९१ जनालाई पक्राउ गरिएको छ।
सीमा अतिक्रमण नियन्त्रणतर्फ दशगजा क्षेत्रमा बनेका २३७ वटा संरचना हटाइएका छन् भने १७ स्थानको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ। यसका साथै, २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ।सीमावासीसँगको सम्बन्ध सुधार र जनचेतना अभिवृद्धिका लागि २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यस अवधिमा सञ्चालित १४१ वटा सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ र १३ वटा पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना नागरिक लाभान्वित भएका छन्।