अर्घाखाँची । कृष्ण जन्माष्टमीको अवसर पारेर नेपालकै प्रसिद्ध मन्दिर सुपादेउरालीमा आज तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अर्घाखाँची र कपिलवस्तु जिल्लाका ९६ वटा विभिन्न समूहले उत्साहजनक सहभागिता जनाएका थिए ।
कार्यक्रममा सहभागी सबै समूहलाई प्रोत्साहन स्वरूप नगद ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सुपा देउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्स बहादुर केसीले आफ्नो कार्यकाल सुरु भएदेखि नै परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले समुदायमा आपसी सद्भाव र सम्बन्ध विस्तार गर्नुका साथै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरि खनालले कला, संस्कृतिसँगै धार्मिक कार्यको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले धार्मिक तथा सांस्कृतिक महत्वलाई जीवन्त राख्न मद्दत पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो । प्रतियोगिताले स्थानीय स्तरमा सांस्कृतिक जागरण ल्याउनुका साथै कलाकारहरूलाई प्रोत्साहन मिलेको सहभागीहरूले बताएका छन् ।