प्रेमचन्द्र झा
रौतहट। प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले निरीक्षण तथा अनुगमन भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय गरुडाको निरीक्षण तथा अनुगमन गरेका छन्। अनुगमनका क्रममा डीआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूको समग्र कार्यसम्पादन, सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान, जनशक्ति परिचालन, अभिलेख व्यवस्थापन तथा कार्यालय सञ्चालनको अवस्थाबारे विस्तृत जानकारी लिएका थिए। उनले प्रहरी संगठनलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक निर्देशनसमेत दिएका छन्।
निरीक्षणपछि आयोजित निर्देशनात्मक कार्यक्रममा डीआईजी अधिकारीले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने कार्यलाई थप प्रभावकारी बनाउन, अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्न तथा चोरी, तस्करीलगायतका गैरकानुनी गतिविधि विरुद्ध कडा निगरानी बढाउन निर्देशन दिए। उनले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै कानुन कार्यान्वयनमा कुनै पनि प्रकारको कमजोरी हुन नदिन प्रहरी कर्मचारीलाई सचेत गराए।
उनले प्रहरी सेवाको मूल उद्देश्य नागरिकको विश्वास जित्नु भएकाले सेवाग्राहीसँग शिष्ट, सभ्य र नागरिकमैत्री व्यवहार गर्नुपर्नेमा विशेष जोड दिए। प्रहरी संगठनभित्र अनुशासन, इमान्दारिता र व्यावसायिकतालाई उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
डीआईजी अधिकारीले प्रहरी कर्मचारीले आफ्नो आचरण, व्यवहार र जिम्मेवारीप्रति सदैव संवेदनशील रहनुपर्ने उल्लेख गर्दै कानुनको निष्पक्ष कार्यान्वयन, मानवअधिकारको सम्मान तथा जनविश्वास अभिवृद्धि हुने गरी कार्यसम्पादन गर्न आग्रह गरे। उनले समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउँदै जनताको सुरक्षा र शान्तिको प्रत्याभूति दिलाउने गरी काम गर्न निर्देशन दिए।
यस अवसरमा जिल्लाको समग्र सुरक्षा अवस्था, सीमावर्ती क्षेत्रमा हुने सम्भावित चुनौती, चोरी–तस्करी नियन्त्रण, अपराधको प्रवृत्ति, अनुसन्धानको अवस्था तथा प्रहरी परिचालनका विषयमा विस्तृत समीक्षा गरिएको थियो। डीआईजी अधिकारीले जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक रणनीति अपनाई सबै सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गर्न मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।
कार्यक्रममा जिल्लाको सुरक्षा अवस्था तथा प्रहरीका गतिविधिबारे उठेका जिज्ञासाको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जिल्लाको वर्तमान सुरक्षा अवस्था सामान्य र नियन्त्रणमा रहेको जानकारी गराए। उनले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, अवैध गतिविधि नियन्त्रण तथा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय निरन्तर सक्रिय रहेको बताए। सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेर नियमित गस्ती, निगरानी तथा विशेष सुरक्षा अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक बसन्त अधिकारीका अनुसार निरीक्षण भ्रमणका क्रममा डीआईजी अधिकारीले प्रहरी संगठनको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन, जनमुखी सेवा प्रवाहलाई सुदृढ गर्न तथा प्रहरीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने विषयमा आवश्यक निर्देशन दिएका हुन्। साथै उनले मातहतका प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दार, अनुशासित र जिम्मेवार भएर जनताको सेवामा समर्पित रहन आग्रह गरेका छन्। प्रदेश प्रहरी कार्यालयको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रमअन्तर्गत सम्पन्न उक्त भ्रमणले जिल्ला तथा मातहतका प्रहरी इकाइहरूको कार्यसम्पादनमा थप प्रभावकारिता, अनुशासन र उत्तरदायित्व अभिवृद्धि हुने विश्वास गरिएको छ।