भैरहवा । छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पर्वका क्रममा बढ्दो यात्रु आवागमन र भीडभाडलाई ध्यानमा राख्दै दुवै देशका सुरक्षा निकायले सुनौली नाकासहित सीमावर्ती गाउँ, मुख्य तथा भित्री सडक र छठ पूजास्थल आसपासमा निगरानी बढाएका हुन् ।
नेपालतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भारततर्फ सशस्त्र सीमा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा नियमित गस्ती गरिरहेका छन् । रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार शंकास्पद गतिविधिमाथि निगरानी राख्न सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमा पार गर्ने यात्रुको परिचयपत्र र सवारीसाधनको जाँचमा कडाइ गरिएको छ ।
छठको भीडभाडमा अवाञ्छित गतिविधि रोक्न दुवै देशका सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान तीव्र पारिएको छ । नौतनवाका क्षेत्राधिकारी (सीओ) बसन्त कुमार सिंहले पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको र शंकास्पद गतिविधिको सूचना पाएलगत्तै तत्काल कारबाही गरिने बताए ।