नाकमुनि डिजेल चोरी हुँदा रुपन्देही प्रहरी बेखबर, प्रदेशको छापापछि सुरक्षा संयन्त्रमै प्रश्न

Ujyalosandeshonline 12323+ समाचार ( )
३१ भाद्र २०८३, बुधवार

भैरहवा । भारतबाट नेपाल आयल निगमको भलवारी डिपोका लागि हिँडेका ट्याङ्करबाट बाटोमै डिजेल चोरी भइरहेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोलीले रूपन्देहीमा छापा मारेर तीनवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। जिल्लाभित्रै भइरहेको यस्तो गम्भीर गैरकानुनी गतिविधिबारे आफ्नै भूगोलमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही बेखबर बन्नु वा बेवास्ता गर्नुले स्थानीय सुरक्षा संयन्त्रको भूमिका र निगरानी क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा ट्याङ्करको आधुनिक ताल्चा र सिल तोडी हाइड्रोलिक ज्याक प्रयोग गरेर डिजेल निकालिरहेको अवस्थामा प्रदेशको टोलीले रंगेहात छापा मारेको हो। घटनास्थलबाट प्रहरीले करिब ३० लिटर डिजेलसहित लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्कर र दुर्गेश चाईलाई नियन्त्रणमा लिएको छ भने भाग्दै गरेको लु १ ख ६६१९ नम्बरको अर्को ट्याङ्करलाई पछाडिबाट पछ्याएर समातेको छ। घटनापछि पम्प सञ्चालक र दुई ट्याङ्कर चालक फरार भएका छन्।

जिल्लाभित्र हुने पेट्रोलियम पदार्थको ओसारपसार र चोरी नियन्त्रण गर्ने प्राथमिक जिम्मेवारी जिल्ला प्रहरी कार्यालयको भए पनि, आफ्नै नाकमुनि भइरहेको संगठित चोरी पत्ता लगाउन नसक्नु र प्रदेश प्रहरीले दाङबाट टोली खटाएर कारबाही गर्नुपर्ने अवस्था आउनुले जिल्ला प्रहरीको कार्यशैली र नियतमाथि सन्देह पैदा गरेको छ। जिल्लाको नियमित अनुगमन र सुरक्षा संयन्त्र पूर्णतः निष्प्रभावी बनेकै कारण प्रदेश प्रहरीले सिधै हस्तक्षेप गर्नुपरेको स्थानीयको दाबी छ।

घटनापछि नेपाल आयल निगम, प्रादेशिक कार्यालय भलवारीले सराफ आयल सेन्टरलाई सिल गर्दै संलग्न ट्याङ्करको ढुवानी बन्द गरेको छ भने चालकहरूलाई निगमका कार्यालयहरूमा प्रवेश निषेध गरेको छ। यता पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले पनि विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र पारदर्शी छानबिनको माग गर्दै दोषीमाथि कारबाही गर्न र निर्दोषलाई नजोग्याउन आग्रह गरेको छ। नियन्त्रणमा लिइएका ट्याङ्कर र व्यक्तिमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइए पनि, विगतमा विक्रम सिंह थापा प्रहरी प्रमुख हुँदा जस्तै कडा अनुसन्धान हुन्छ वा यो घटना ढाकछोप हुन्छ भन्नेमा सर्वसाधारणले चासोका साथ हेरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार