पोखरा । बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव नेपालमा पहिलो पटक २४ डिसेम्बर, २०२४ देखि सुरु हुँदैछ । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्था मा ल्याउने विश्वासका साथ बेलुन नेपाल प्रालिल पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रिय स्तरको बेलुन महोत्सव आयोजना गर्न लागेको हो । पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्दधन गर्ने लक्ष्य राखेको बेलुन महोत्सव ९ दिन सम्म चल्ने छ ।
सात करोड बराबरको लागतमा हुन लागेको बेलुन महोत्सवमा संयुक्त राज्य अमेरिका, स्पेन लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत गरी १५वटा देशको सहभागिता रहेको बेलुन नेपाल प्रालि का कार्यकारी निर्देशक सबिन मर्हजनले बताए । ‘लागतहाम्रो ७ करोड बराबरको छ । जसमा केही रकममा बेलुन महोत्सवका प्रायोजकहरुसँग लिएका छौं । यो नेपालको पर्यटन, हवाई पर्यटन प्रर्वद्धनगर्ने उदेश्यले गरिएको हो ।’ उनले भने,‘४० मिनेटको बेलुन उडानमा हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खला सहित माछापुच्छ्रे र धौलागिरीका साथ पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ ।’
महर्जनका अनुसार महोत्सव अवधीभर दर्शकहरुको आकर्षणका लागि बलुन नेपालले हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ्ग पनि आयोजना गरेको छ । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ । यो फेस्टिबल को संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ ।
महोत्सवको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् । महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक व्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट एलिना चौहान, कुमा सागर एण्ड ख्वप ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति दैनिक रुपमा हुने छन् ।
महोत्सवमा जानको लागि निशुल्क रहेको छ भने बेलुनराईड, फुड स्टल तथा सांगितिक प्रस्तुतीहरुमा सहभागी हुनका लागि आयोजक बेलुन नेपालले शुल्क तोकेको छ । बेलुन नेपालका निर्देशक विष्णु ढकालका अनुसार बेलुन राईडका लागि नेपालीहरुका लागि ११ हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ । ढकालले भने,‘महोत्सव परिसरमा छिर्नका लागि कुनै शुल्क लाग्दैन । यो निशुल्कहो ।तर, फुडकोड एरिया भित्र जानको लागि एक हजार रुपैयाँ तोकिएको छ । जसमा एउटा ड्रिक्स निशुल्क रहेको छ । बेलुन राइड गर्नको लागि, कर्मसियल फ्लाईटको लागि नेपालीको लागि ११ हजार रुपैयाँ प्रति व्यक्ति छ ।’
सन् २०१५ मा स्थापनाभएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडानहरू सञ्चालनगर्दै आएको छ। यस वर्षको फेब्रुअरीमा बेलुन नेपालप्रा. लिमिटेडले थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय बेलुनपर्वमा पनि सहभागीभएको थियो, जसले विश्वव्यापी बेलुनिङ समुदायमा कम्पनीको बढ्दो उपस्थिति देखाएको थियो ।
बेलुनराईडका लागि नेपाली पाईलटहरु अहिलेसम्म नभएकालेसबै पाईलटहरु विदेशबाट ल्याइएका छन् ।बेलुन राइड सुरक्षित भएको कार्यकारी निर्देशक मर्हजनको दाबी छ । मर्हजनले भने,‘बेलुन राईड एकदम सुरक्षित छ । हवाई उडानहरुमा बेलुन राईड सबै भन्दा सुरक्षित पनि हो । यदी भईपरि आएमा बेलुन नेपालले ३० हजार डलर सम्मको बिमा पनि दिएको छ ।’
सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिवल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् । न्यू मेक्सिकोमा बार्षिक रुपमा आयोजना हुने यो बेलुन फेस्टिबलमा ५०० वटा बेलुन उडाउने गरिन्छ । हरेकवर्ष करिब १० लाखभन्दा बढी पर्यटक यो फेस्टिबलमा सहभागी हुने गर्छन् ।