पाँचथर । पाँचथर र तेह्रथुमलाई
जोड्ने तमोर नदीमा निर्माणाधीन पुल ठेक्का लागेको १० वर्षसम्म पनि बनेको छैन । पुल
निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयबासीले आन्दोलनको चेतावनी दिएका छन् ।
दशकसम्म पनि पुल निर्माण नभएको
भन्दै स्थानीयबासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । पुल नबन्दा दुवै जिल्लाका
बासिन्दालाई आर्थिकरुपमा ठूलो नोक्सानी भएको उनीहरूको गुनासो छ ।
यहाँ पुल बनाउन सडक डिभिजन कार्यालय
धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंलाई २०७० सालमा ठेक्का दिएको थियो । सम्झौतामा
३ वर्षमा पुल निर्माण सम्पन्न गर्ने उल्लेख भएपनि निर्माण कम्पनीले १० वर्षसम्म ४०
प्रतिशत पनि काम पूरा गरेको छैन ।
निर्माण कम्पनीले यति लामो समयसम्म
पुल निर्माण अलपत्र पारेकोमा सरकारले समेत कुनै कदम चालेको छैन । निर्माण व्यवसायीको
लापरबाहीमा राजनीतिक नेतृत्वले संरक्षण गरेको स्थानीयबासीको आरोप छ ।
सडक डिभिजन कार्यालयका अनुसार
पुलमा १६० मिटर लामो पुलमा ९२ मिटर ढलान र ५७ मिटरमा स्टिलको ट्रष्ट राख्ने सम्झौता
छ । दुई लेनको पुल निर्माणका लागि स्वच्छन्द निर्माण सेवाले १५ करोड ३६ लाख रुपैयाँको
लागतमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार ०७३ सालमै निर्माण
सम्पन्न हुनुपर्ने पुल १० वर्षसम्म आधा पनि भएको छैन । पुलमा २ वटा पिलर, ४ वटा स्ल्याप र ६० मिटर लम्बाइको ट्रस्ट निर्माण गर्न बाँकी
नै छ ।
पुल निर्माणमा निर्माण कम्पनीले
लापरबाही गरेको र कर्मचारी तथा राजनीतिक नेतृत्वको पनि मिलेमतो रहेको भन्दै दुवै जिल्लाका
बासिन्दाले पटक–पटक पुल निर्माण सम्पन्न गर्न माग गर्दै आएका छन् । म्याङलुङका युवा
अर्जुन ढुंगानासहितले त त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका
छन् ।
पुल निर्माण सम्पन्न गर्न जिल्लाका
जनप्रतिनिधि, सरोकारवाला र राजनीतिक दलका नेताहरूले
पटक पटक सिंहदरबारै पुगेर ध्यानाकर्षण गराएका छन् । तर न त पुल निर्माणको काम अघि बढेको
छ, न त ठेक्का रद्ध गर्ने प्रक्रिया
नै ।
पुल निर्माणमा कसैले पनि चासो
नदिएपछि आफूहरूले आन्दोलनको तयारी थालेको म्याङलुङ्ग नगरपालिकाका मेयर सञ्जय तुम्बाहाङ्फेले
बताए । ‘अबको एक साताभित्र पनि निर्माण कम्पनीले रोकिएको काम थालेन भने हामी विरोधका
कार्यक्रम घोषणा गरेर अघि बढ्छौँ,’ उनले भने ।
हालै जिल्लाका राजनीतिक तथा सामाजिक
अगुवाहरूको टोलीले निर्माणाधीन पुल यथाशीघ्र सम्पन्न हुने सुनिश्चतता नगरेर आन्दोलन
चर्काउने घोषणा गरेका छन् ।
पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा
निर्वाचित सांसद वसन्तकुमार नेम्वाङसमेतको टोलीले पुल निर्माण स्थलमै पुगेर पटक–पटक
अनुगमन गरेको थियो । नेम्वाङले सदनमा समेत पुल निर्माणमा ठेकेदारले ढिलाइ गरेको बारेमा
जानकारी गराएका थिए । तर अघिल्लो सरकारको पालामा उनै नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात
मन्त्रीसमेत बने । तर पनि उनकै तमोर नदीमा निर्माणाधीन पुल बनेनँ ।
पुल निर्माण नहुँदा दुई जिल्लाका
बासिन्दाले दुःख ब्यहोर्नु परिरहेको उद्योग वाणिज्य संघ याशोक पाँचथरका अध्यक्ष गोपाल
पोखरेलले बताए ।
स्वच्छन्द निर्माण सेवाका सञ्चालक
जयराम लामिछाने हुन् । उनी कांग्रेसका प्रभावशाली नेतासमेत हुन् । लामिछानले सुरुवातमा
भारतीय नाकाबन्दी भएको, पछि बाढी पहिरो
र कोरोनाका कारण समेत काममा प्रभाव परेको भन्दै पटक–पटक म्याद थप गराउँदै आएका छन्
। हाल निर्माणस्थलमा ठेकेदार कम्पनीका प्रतिनिधिसमेत छैनन्, न त कामदार नै ।
तमोर नदीमाथि बनिरहेको यो पुलले
पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्नेछ । पाँचथरको
सदरमुकाम फिदिम र तेह्रथुमको सदरमुकाम म्याङलुङ जोड्ने छोटो दूरीको यो पुल निर्माणपछि
मेची र कोशी राजमार्गको सिधा सम्पर्कसमेत जोडिनेछ । तर तोकिएको समय भन्दा ७ वर्ष ढिला
भइसक्दा पनि पुल निर्माणले गति लिन सकेको छैन ।