अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा सन्धिखर्क नगरपालिकाको आयोजना तथा ग्याष्ट्रो सेन्टर बुटवल प्रालिको प्राविधिक सहयोगमा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पेट, कलेजो तथा आन्द्रा रोग सम्बन्धी ३५० भन्दा बढी बिरामीले स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधि समेत प्राप्त गरेका छन् ।
शिविरमा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल र कन्सलटेन्ट फिजिसियन डा. काशीराम बि.क. लगायतको विशेषज्ञ टोलीले बिरामीहरूको चेकजाँच गरेको थियो ।शिविरमा ४८ जना बिरामीको इन्डोस्कोपी गरिएको थियो जसको नतिजा चिन्ताजनक देखिएको छ ।
डा. मोहन भुसालका अनुसार इन्डोस्कोपी गरिएकामध्ये ६० प्रतिशतमा ग्यास्ट्रिक अल्सर, २० प्रतिशतमा कडा खालको ग्यास्ट्रिक र २० प्रतिशतमा सामान्य ग्यास्ट्रिक देखिएको छ भने ९० प्रतिशत बिरामीमा हियाटस हर्निया (Hiatus Hernia) को समस्या फेला परेको छ । डा. भुसालले खानपान र जीवनशैलीमा आएको परिवर्तनले मानव स्वास्थ्यमा असर पारेको भन्दै धुम्रपान, मदिरापान, जंकफुड र मैदाजन्य परिकार त्यागी फाइबरयुक्त, सफा र ताजा खाना खान सुझाव दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकका लागि यस्ता शिविर वरदान सावित हुने बताउँदै रोग लुकाएर नराख्न आग्रह गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीको स्वागत र प्रकाश परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क-१२ का सेवाग्राही बालकृष्ण श्रेष्ठले आफ्नै घरआँगनमा विशेषज्ञ सेवा पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिनुभयो।