भैरहवा । भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको साढे दश टन चिनीसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिको झुलनीपुरबाट बिहिवार बिहान साढे दुइ बजे लु २ ख २८३६ नम्बरको ट्रकमा २ सय १० बोरा (साढे दश टन) चिनी पोखरा लैजाने क्रममा बेथरी क्षेत्रबाट बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । उनका अनुसार ६ लाख ३० बजार मूल्य बराबरको उक्त चिनीको प्रज्ञापन पत्र, बिलबिजक नभएको अवस्था नियन्त्रणमा लिइएको हो ।
उक्त क्षेत्रबाट निरन्तर रुपमा भन्सार छली गरेर विभिन्न साम्रगी भित्रिने गर्दछ । गत भदौ ८ गते पनि भन्सार कार्यालयले भन्सार छलेर भित्राइएको दुई सय बोरा चिनीसहित ग २ ख १२९० नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
कार्यालयका अनुसार नियन्त्रणमा लिइएको मायादेवी गाउँपालिका–२ तुल्सीपुरका चालक शिवकुमार यादवले सोधपुछको क्रममा ट्रकमा चामल रहेको बताएपछि जाँच गर्दा चिनी बरामद भएको हो । भैरहवा भन्सार कार्यालयको प्रमुखमा नारद गौतम आएपछि भन्सार छली विरुद्ध कार्यालयको सक्रियता बढेको देखिएको छ । उनको नेतृत्वमा कार्यालयले धमाधम भन्सार छलीका साम्रगी, गाडी र व्यक्तिहरुलाई पक्राउ गरी कारवाही गर्दै आएको छ ।