भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २४ लाख १७ हजार नौ सय सहयोग रकम जम्मा गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्यासित बाढीका कारण रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो जनधनको क्षति भएपछि पालिकाले सो सहयोग रकम उपलब्ध गराएको हो।
गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीद्वारा हस्ताक्षरित अपिलअनुसार पालिकाको विपद् व्यवस्थापन कोषबाट रु. पाँच लाख, जनप्रतिनिधिहरूबाट रु. दुई लाख १८ हजार नौ सय, कर्मचारीहरूबाट रु. आठ लाख २५ हजार र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूबाट रु. आठ लाख ७४ हजार सङ्कलन गरी सो रकम कोषमा जम्मा गरिएको छ।
नागरिकको दुःखमा मलम लगाउनु स्थानीय सरकारको पहिलो कर्तव्य भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष यादवले विपद्का बेला जनताको सेवामा सधैँ समर्पित र तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिकाले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।