मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, च्यानडाँडास्थित भित्री जङ्गलबाट २१२ किलो ८६० ग्राम लागुऔषध गाँजा बेवारिसे अवस्थामा बरामद गरिएको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उक्त स्थानमा छापा मार्दा लागुऔषध गाँजा बोकेर आउँदै गरेका ७/८ जना व्यक्तिहरूले प्रहरीलाई देख्नासाथ गाँजाको भारी फालेर जङ्गलतर्फ भागेका थिए ।
बरामद गरिएको गाँजाको तौल गर्दा २१२ किलो ८६० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद गरिएको गाँजालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने फरार रहेका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध नियन्त्रण का लागि सक्रिय रूपमा काम गरिरहेको र यस घटनामा संलग्न दोषीहरूलाई चाँडै नै कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ ।