गुल्मी । नेपाल नेत्र ज्योति संघले गुल्मीको इस्मा गाउँपालिकाका अग्नि पीडितहरुका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासमा एक औपचारिक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुलाई रु.५० हजारको चेक हस्तान्तरण गरिएको हो ।
नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेयले संघका निवर्तमान अध्यक्ष शेर बहादुर थापा, सचिव पदमप्रसाद पाण्डे, कोषाध्यक्ष वीरेन्द्र भुसाल, सह–कोषाध्यक्ष पार्वता थापा, कार्यालय प्रमुख सूर्य बहादुर बस्नेत, लेखापाल वीरबहादुर कार्की तथा पत्रकारको सहभागितामा सो रकम हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा ईश्मा गाउँपालिका अध्यक्ष खड्काले विपद्मा सहयोग गरेको भन्दै नेत्र ज्योति संघलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । “सामाजिक संघ संस्थाहरु आफैले रकमहरु जम्मा गरेर यस्ता संघसंस्था सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । त्यसमा आफै संस्थाले पैसा संकलन गरी हामीलाई जुन सहयोग पु¥र्याउनुभयो, त्यसका प्रति हामी आभारी छौं ।” अध्यक्ष खड्काले भन्नुभयो ।
विगतमा दुई वर्ष देखि अत्यन्तै सहयोग पु¥र्याउँदै आएको बताउँदै नेत्र ज्योति संघसँगको सहकार्यमा इस्माका करिब ६७ जना नागरिकहरुले मोतिया बिन्दुको शल्यक्रिया मार्फत पुर्नदृष्टि प्राप्त गरेका बताउनुभयो । उहाँले भन्नुभयो,–‘यहाँआएपछि पछिल्लो पटकको शिविरमा इस्माकी ९७ वर्षिय आमाले फेरी पुर्नदृष्टि प्राप्त गर्नुभएकोले यहाँहरुले प्रदान गरेको शल्यक्रिया सेवाले अत्यन्तै हर्षित बनाएको छ ।’
आगामी दिनमा पनि सहकार्य, समन्वय र इस्माका नागरिकहरुलाई आँखा सम्बन्धी उपचारहरुमा अरु रचनात्मक कामहरुको पनि खोजी गरेर आपसी छलफलद्वारा अगाडी बढ्ने बताउनुभयो । नेत्र ज्योति संघले आँखा उपचारसँगै विपद्का घटनामा राहत तथा सहयोगका कार्यहरु समेत गर्दै आइरहेको सभापति अखिलेश्वरप्रसाद पाण्डेले बताउनुभयो ।
‘गत बैशाखमा गुल्मी जिल्लामा धेरै आगलागीका घटनाहरु भए त्यसमध्येमा इश्मामा पनि धेरै क्षति भयो । नेपाल नेत्र ज्योति संघले केन्द्रबाट सहयोग गर्दै आइरहेको छ ।’ त्यस अवसरमा सभापति पाण्डेयले यहाँको जिल्ला आँखा उपचार केन्द्रलाई सेकेण्डरी आई हस्पिटलका रुपमा स्तरोन्नतीका लागि आफुहरु लागि परेको बताउनुभयो ।
आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार ८९३ जनाले आँखाको उपचार गराएका छन् । जिल्ला आँखा उपचार केन्द्र तम्घासबाट १२ हजार ९५७ जनाको आँखाको जाँच गरिएको छ ।मुसिकोट नगरपालिका वामीमा रहेको आँखा उपचार केन्द्रबाट ३ हजार २, चन्द्रकोटमाको शान्तिपुरमा रहेको आँखा उपचार केन्द्रबाट १ हजार ६०२, मालिका गाउँपालिकाको सिमलटारीमा रहेको आँखा उपचार केन्द्रबाट ८६०, मदानेमा रहेको आँखा उपचार केन्द्रबाट १ हजार ४७२ जनाले आँखाको सेवा लिएका छन् ।