भैरहवा । भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ मा स्थानीय उत्पादन र घरेलु परिकारले दर्शकहरूको ध्यान खिचेको छ । मेलाको स्टल नम्बर २९ मा राखिएको ‘निताको घरेलु अर्गानिक अचार’ ले विशेषगरी पारखीहरूको मन जितिरहेको छ ।
सिद्धार्थनगर नगरपालिका–३, अमरपथकी नितु सिंहले सञ्चालन गरेको यो उद्यममा अर्गानिक र मौलिक स्वादका विभिन्न अचारहरू उपलब्ध छन् । विगत ७ वर्षदेखि यस पेसामा सक्रिय सिंहले आफ्नै हातले तयार पारेका कुखुराको मासुको अचार, डल्ले खुर्सानी, तामा-डल्ले, लसुन, टिमुरको छोप, आँप, करेला, तामा र निबुको अचार स्टलमा राखेकी छिन् ।
सन्तुष्ट र आत्मनिर्भर उद्यमी
कुनै समय घरको काममा मात्र सीमित रहने नितु सिंह अहिले एक सफल व्यवसायी बनेकी छिन्। आफ्नो ७ बर्से व्यावसायिक यात्राबारे बताउँदै उनले भनिन्, "पहिला म घरमै बस्थेँ, तर अहिले यो पेसाबाट म निकै सन्तुष्ट छु । घरबाटै अचार बनाएर बेच्छु, ग्राहकहरू घरमै आएर लैजानुहुन्छ।"
यही व्यवसायबाट भएको आम्दानीले उनले आफ्नो परिवारको पालनपोषण गरिरहेकी छिन् । एकपटक अचारको स्वाद लिएका ग्राहकहरू निकै मन पराएर पुनः खोजी-खोजी आउने गरेको उनको अनुभव छ ।
सरकारी प्रोत्साहनको अभाव
आफ्नै लगानी र मेहनेतले व्यवसायलाई यहाँसम्म ल्याइपुर्याएकी सिंहले अहिलेसम्म सरकारी निकायबाट कुनै पनि अनुदान वा सेवा सुविधा नपाएको गुनासो गरिन् । साना तथा घरेलु उद्यमीहरूलाई सरकारले प्रोत्साहन स्वरूप अनुदान दिए व्यवसाय विस्तारमा सहज हुने उनको भनाइ छ ।
कहाँ पाइन्छ अचार?
हाल भैरहवामा सञ्चालित सातौं लुम्बिनी महोत्सवको स्टल नम्बर २९ मा यी अर्गानिक अचारहरू उपलब्ध छन् । मेला सकिएपछि भने ग्राहकहरूले सिद्धार्थनगर–३, अमरपथस्थित उनको निवासमै गएर पनि अचार खरिद गर्न सक्नेछन् ।