रुपन्देही । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोटबाट अन्दाजी रु ३१ लाख ४५ हजार ५०० मूल्य बराबरको भन्सार छलीको लत्ताकपडा र सवारी साधन बरामद गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई र प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१०३२ च ९३८५ नम्बरको कारलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा उक्त सामग्री बरामद भएको हो।
सवारी चालक कार छोडेर फरार भएपछि सवारी साधनभित्र जाँच गर्दा रु १ लाख ४५ हजार ५०० बराबरको अवैध लत्ताकपडा फेला परेको थियो । ढुवानीमा प्रयोग गरिएको रु ३० लाख मूल्य बराबरको कारसहित बरामद गरिएका सम्पूर्ण सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।