कर्मचारीको मनोबल बढाउन मध्यबिन्दुमा ‘हाम्रो खुसी’ अभिमुखीकरण, सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा

Ujyalosandeshonline 11880+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

मध्यबिन्दु, नवलपरासी । मध्यबिन्दु नगरपालिकाले आफ्ना कर्मचारीहरूको मनोबल अभिवृद्धि गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘हाम्रो खुसी’ पाठ्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सकारात्मक सोच र खुसीको संस्कार विकास गरी नागरिक सेवालाई मानवीय र प्रभावकारी बनाउनेमा जोड दिइएको थियो।

कार्यक्रम नगर-प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले कर्मचारी सन्तुष्ट र खुसी भए मात्रै जनताप्रति इमानदार सेवा दिन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “‘हाम्रो खुसी’ जस्तो कार्यक्रमले कर्मचारीको मनोविज्ञान र सेवा प्रवाहमा सुधार ल्याउनेछ। यो अभियानलाई नगरका सबै तहमा विस्तार गरिनेछ।”

यस्तै, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले प्रशासनिक कार्यकुशलताका साथै सेवा प्रवाहमा मानवीय भावनाको सम्मिश्रण आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार, यस कार्यक्रमले कर्मचारीहरूमा खुसीपनको संस्कार विकास गरी वहाँहरुलाई थप सहयोगी, सकारात्मक र सन्तुलित बनाउन मद्दत गर्नेछ।

कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरीले नगरपालिकामा सकारात्मक ऊर्जा र खुसीको वातावरण निर्माण गर्न यस्ता अभियानमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै ‘हाम्रो खुसी’ लाई केवल प्रशिक्षण नभई जीवनशैली बनाउनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी, नगर प्रमुखका सल्लाहकार अमृत प्रसाद ज्ञवालीले कर्मचारीको व्यक्तिगत खुसी र संस्थागत उद्देश्यबीच सन्तुलन कायम गर्न सके मात्र समृद्ध नगर सम्भव हुने धारणा राख्नुभयो।

‘हाम्रो खुसी’का स्रोत शिक्षक तथा एमएचआरटी प्रशिक्षक टोकबहादुर सुनारी र कृष्णचन्द्र गिरीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरूलाई ‘हाम्रो खुसी’को दृष्टिकोण, सिद्धान्त, व्यवहारिक अभ्यास र समर्पित सेवा प्रवाहको महत्वबारे विस्तृत जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी कर्मचारीहरूले यस कार्यक्रमबाट आफूहरूलाई आत्मनिरीक्षण, भावनात्मक वृद्धि र व्यावसायिक जीवनमा सन्तुलन कायम गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।

नगरपालिकाले आगामी दिनमा विद्यालय, स्वास्थ्य संस्था, महिला समूह तथा अन्य सरोकारवालाहरूसँग समन्वय गर्दै ‘हाम्रो खुसी’ अभियानलाई संस्थागत रूपमा अघि बढाउने योजना बनाएको छ। कार्यक्रमको सञ्चालन शिक्षा सहायक गीता चापागाईंले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार