कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा असोज २ गते बिहीबार पालिकामा क्रियाशील राजनीतिक दल, सरोकारवाला, बुद्धिजीवी र जनप्रतिनिधि लगायतको सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकले भदौ २३ र २४ गते GNZ को आह्वानमा भ्रष्टाचार विरुद्ध र पारदर्शिताको माग गर्दै भएको आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिबारे समीक्षा गर्दै GNZ को आवरणमा भएको अराजक गतिविधि तथा सार्वजनिक र निजी सम्पत्तिमाथिको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
बैठकले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सहभागीहरूले आन्दोलनमा घुसपैठ गरी हिंसात्मक घटना गराउने व्यक्ति तथा समूहको पहिचान गरी सख्त कारबाही गर्नुपर्नेमा एक्यबद्धता जनाएका छन् ।
बैठकपछि जारी विज्ञप्तिमा देशमा मौलाउँदै गएको भ्रष्टाचार, अपारदर्शिता, पदको दुरुपयोग र नातावादजस्ता समस्याहरूले नागरिकको विश्वास खस्केको स्वीकार गर्दै शान्तिपूर्ण आन्दोलन नागरिकको अधिकार भएकोमा स्पष्ट पारिएको छ। यद्यपि, भदौ २४ गते कञ्चन गाउँपालिका सहित विभिन्न स्थानमा सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा अराजक व्यवहारप्रति गम्भीर चिन्ता र असहमति व्यक्त गरिएको छ ।
विज्ञप्तिमा यस्ता कार्यहरू शान्तिपूर्ण आन्दोलनको मर्यादा र नैतिकतासँग मेल नखाएको तथा आन्दोलनका मूल उद्देश्यहरूलाई कमजोर तुल्याउने खतरा रहेको औंल्याउँदै सम्पूर्ण पक्षलाई संयमित, अहिंसात्मक र मर्यादित तरिकाले अघि बढ्न आग्रह गरिएको छ। सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनीमा संलग्न आपराधिक प्रवृत्तिका मानिसहरूलाई तत्काल कानूनी दायरामा ल्याई कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा सम्पन्न बैठकले सबै नागरिक, आन्दोलनकर्ता, सुरक्षाकर्मी, सञ्चार माध्यम तथा सरोकारवाला पक्षहरूलाई संयमता, धैर्यता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै राष्ट्रहितमा जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ ।