राप्रपा उम्मेदवार गौरव बोहराको क्षेत्र नं. ३ मा शक्ति प्रदर्शन

Ujyalosandeshonline 11434+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

भैरहवा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले आफ्नो निर्वाचन क्षेत्रमा वृहत् मोटरसाइकल र्‍याली आयोजना गरी शक्ति प्रदर्शन गर्नुभएको छ । चुनावी प्रचारप्रसारलाई तीव्रता दिने क्रममा बोहराको सचिवालयले मंगलबार क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न स्थानीय तहहरु समेट्ने गरी र्‍यालीको आयोजना गरेको हो ।

सचिवालयका अनुसार उक्त र्‍याली क्षेत्रका प्रमुख स्थानहरू भएर गुज्रिएको थियो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाका सम्बन्धित वडाहरु, बुटवल उप–महानगरपालिकाको क्षेत्र नं. ३ मा पर्ने भूभाग, मायादेवी, ओमसतिया, सियारी र शुद्धोधन गाउँपालिकामा भब्य मोटरसाईकल र्‍यालीको आयोजना गरिएको राप्रपाका सचिव बलराम शर्माले बताउनुभयो । 

सयौँको संख्यामा रहेका मोटरसाइकल सवार कार्यकर्ता र समर्थकहरूले राप्रपाको चुनाव चिन्ह र झण्डा बोकेर नगर तथा गाउँ परिक्रमा गरेका थिए । र्‍यालीका क्रममा उम्मेदवार बोहराले स्थानीय मतदाताहरूसँग संक्षिप्त भेटघाट गर्दै आफ्नो एजेन्डा र प्रतिबद्धताहरू प्रस्तुत गर्नुभएको थियो । “जनताको उत्साहजनक सहभागिताले हाम्रो विजय सुनिश्चित छ । हामी यस क्षेत्रको विकास र सुशासनका लागि दृढ छौँ,” जिल्ला सचिव शर्माले भन्नुभयो । 

बोहराको सचिवालयले उक्त चुनावी र्‍याली अत्यन्तै सभ्य, अनुशासित र भव्य रुपमा सम्पन्न भएको दाबी गरेको छ । निर्वाचन आचारसंहिताको पालना गर्दै आम नागरिकलाई असुविधा नहुने गरी कार्यक्रम सञ्चालन गरिएको र्‍याली आयोजक टोलीको भनाइ छ । स्थानीय स्तरमा युवाहरू माझ लोकप्रिय मानिएका बोहराको यस र्‍यालीले क्षेत्र नम्बर ३ मा चुनावी रौनक थप बढाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राप्रपाले आफ्नो घरदैलो र प्रचार अभियानलाई अझ सशक्त बनाउने योजना बनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार