भैरहवा । मारवाडी युवा मञ्च भैरहवाको आयोजनामा आपत्कालीन रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रसुवामा आएको बाढीका कारण प्रभावित बिरामीहरूका लागि रगतको माग बढेपछि मञ्चले उक्त कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा भैरहवास्थित मारवाडी सेवा संघमा सम्पन्न उक्त कार्यक्रममा ७० युनिट रगत सङ्कलन भएको मञ्चका महासचिव मोहित सेठियाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मारवाडी सेवा संघका अध्यक्ष श्रवण कुमार बेरिवालले विपद् तथा आकस्मिक समयमा रगतको अभाव हुन नदिन यस्ता मानवीय कार्यहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । मञ्चका अध्यक्ष रोहित कुमार अग्रवालको अध्यक्षतामा भएको सो कार्यक्रममा मारवाडी महिला मञ्च, नेपाल राष्ट्रिय मारवाडी युवा संगठन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् समाजसेवीहरूको उपस्थिति रहेको थियो।