भैरहवा । भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हुदै आएको लुम्बिनी रोडको बसपार्क तथा यति होटल अगाडीको बसपार्क अब हटाईने भएको छ । भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई जिरो प्वाईन्ट मानी सबै बस अब त्यहिबाट सञ्चालन हुने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहवरमा शुक्रबार भैरहवामा बसेको सर्वपक्षिय बैठकले एक बसपार्क नितिलाई अवलम्बल गर्ने प्रतिवद्धता जनाएका छन् । भैरहवालाई सुन्दर र व्यवस्थित बनाउन भैरहवामा रहेको यति होटल अगाडीको तथा लुम्बिनी रोडको बसपार्कलाई ४८ घण्टामा त्यहाबाट हटाउने, सिद्धार्थ बसपार्कलाई जिरो प्वाईन्ट मानी लामो तथा छोटो दुरीका सब त्यहीबाट नै सञ्चालन गर्ने, सिद्धार्थनगर नगरपालिकाले लिदै आएको कर लगायत अन्य सुविधाहरु बसपार्कबाट नै गर्ने तथा एक महिना भित्र बसपार्कमा शौचालय, खानेपानी लगायतका आधारभूत आवश्कता पुरा गर्ने सहमति भएको छ । यस्तै लामो दुरीका बसहरु बेलहियामा पिकअप र ड्रपको लागि मात्रै अधिकतम आधार घण्टाको समय दिएर जान दिने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
२०५६ सालमा करिब १६ बिगहा क्षेत्रफलमा निर्माण भएको सिद्धार्थ बसपार्क प्रयोगविहिन अवश्थामा पुगेको थियो । भैरहवामा सिद्धार्थ बसपार्क, यति होटल अगाडी, लुम्बिनी रोड र बेलहिया गरि ४ वटा बसपार्कहरु सञ्चालनमा रहेका थिए । सर्वपक्षिय यो निर्णय कार्यान्वयनमा ल्याए यसले भैरहवाको सुन्दरतामा थप सहयोग गर्नेछ ।
२०५८ सालमै यस विषयमा सहमति भए पनि त्यसको कार्यान्वयन भने हुन सकेको थिएन । बैठकमा सहभागी पश्चिम नेपाल बस व्यवसायी प्रालीका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे र सिद्धार्थ यातायात प्रालीका अध्यक्ष संजिव रोक्कले प्रशासनले शहर व्यस्थित बनाउन गरेको प्रयासमा आफुहरुले सहयोग गर्ने बताए । उनिहरुले प्रशासनले तोकेको समय अवधि भित्र नै लुम्बिनी रोड र यति होटल अगाडीको पार्किङ्ग हटाएर बसपार्कबाट सञ्चालन गरिने बताए ।
यस्तै बैठकले भैरहवामा ५ सय रिक्सालाई मात्र दर्ता गरि सञ्चालन गर्ने कार्यविधिलाई कडाईका साथ लागु गर्ने जनाएको छ । सिद्धार्थनगर नगरपालिकाले रिक्सा दर्ता गर्न दिएको समय अवधिमा सो संख्या नपुगेको कारण १५ दिनको म्याद थप गरि दर्ताको लागि आव्हान गर्ने निर्णय भएको छ । नगरपालिकाका भित्रि बाटोमा सञ्चालन गर्न चाहने रिक्साधनिले बिलबुक, रुट परमिट, चालक अनुमति पत्र, बिमा लगायतका कागजात राखी दर्ताको लागि निवदेन दिन सक्नेछन् । दर्ता नभएका अन्य रिक्सालाई भने नगरमा सञ्चालन गर्न नदिने भएको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले भैरहवा बसपार्कलाई सञ्चालन गर्न आवश्यक रहेको बताउदै यसमा सहयोग गरि दिन सबैलाई आग्रह गर्नुभयो । भैरहवा पर्यटकिय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान रहेको कारण यसको विकासमा सबैको साथ अपरिहार्य रहेको उनको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको बैठकमा सुरक्षा निकायका प्रमुखहरु, यातायात व्यवसायीहरुको सहभागीता रहेको थियो ।