संघीय सरंचना अनुरुप नगरपालिकालाई प्राप्त जिम्मेवारी सम्पादन गर्नका लागि तयार गरिएको संगठन संरचना बमोजिम नगरपालिकाको विकास निर्माण, सेवाप्रवाह तथा दैनिक प्रशासनिक कार्य भइरहेको छ । ५७ औँ स्थापना दिवस २०८१ भब्य रुपमा सम्पन्न भएको छ । नगर सरसफाई, सडक बत्ती व्यवस्थापन तथा नगरका विभिन्न स्थानमा गत बर्ष स्मार्ट लाइट जडान गरी सो कार्यको यस बर्ष फछ्र्यौट कार्य सम्पन्न भएको छ । नगर क्षेत्रमा रहेका छाडा पशु चौपायाका कारणले सवारी दुर्घटना हुनुका साथै पैदल यात्रुहरुलाइ आवागमनमा अवरोध भइरहेकाले छाडा चौपाया व्यवस्थापनका लागि वडा नं. ४ का अध्यक्ष मुक्तिनाथ यादवको संयोजकत्वमा समिति गठन भइ छाडा चौपाया व्यवस्थापनको कार्यभइरहेको छ । छाडा चौपायालाई व्यवस्थित गर्न तत्कालिन समयका लागि बाणगंगा नगरपालिकाको सहकार्यमा छाडा गाईगोरु व्यवस्थापनका कार्यहरु भइरहेको छ ।
हालसम्म जम्मा गाई ४८ र गोरु ५८ गरी कुल जम्मा १०६ वटा छाडा चौपायाहरु बाणगंगा नगरपालिका को गौशालामा पठाइएको छ । फोहोरमैला दिगो, मितव्यायी एवं गुणस्तरीय व्यवस्थापनका लागि सार्वजनिक सूचना मार्फत् प्रस्ताव आह्वान गरिएको छ । साथै सोही बमोजिम सम्झौता गरी फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान समेत गरिनेछ । नगरको सौन्दर्यकरणका लागि तिनपांग्रे रिक्सा व्यवस्थापनका साथै ठेलाको व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा अनधिकृत सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउने कार्यका साथै नगरपालिकाको नीतिगत निर्णय लाई कार्यान्वयन गर्न १५ जना नयाँ नगर प्रहरी समेत नियुक्ति गरिएको छ ।
यस नगरमा तिनपांग्रे सवारी साधनहरुको व्यवस्थापन जटिल समस्या बनीरहेको सन्दर्भमा सोको समस्या समाधानका लागि जिल्ला प्रशासन कर्यालय, रुपन्देहीको संयोजनमा कार्यविधि संशोधन गरी दर्ता थप गरी ४७३ वटा इ–रिक्साहरु दर्ता भएका छन् । सो नियमन तथा अनुगमनलाइ प्रभावकारी रुपमा लैजान छिमेकी पालिकाहरुसँगको समन्वयतात्मक बैठकबाट छिमेकी पालिकाहरुले २०८१ माघ २० सम्म कानुन निर्माण गर्ने र २०८१ फागुन २० भित्रमा दर्ता प्रक्रिया सम्पन्न गरी २०८१ फागुन २१ बाट नगरिभत्र दर्ता नभएका तिनपाङ्ग्रे सवारी साधनहरु सिद्धार्थनगर भित्र प्रवेश निषेध गर्ने निर्णय भइ कार्यान्वयनको चरणमा प्रवेश गरेकोले थप सरलता भै तीनपाङ्ग्रे सवारी साधनहरुको नियमन तथा अनुगमनका लागि वडा नं ३ का वडा अध्यक्ष नारायणप्रसाद उपाध्यायको संयोजकत्वमा गठित समितिले कार्य गरिरेहको छ ।
यस नगरपालिकाको नगर सभाको १६ औं अधिवेशनले पारित गरेको वार्षिक अनुमानित बजेट रु. १ अर्व ४ करोड २५ लाख ५४ हजार रहेको व्यहोरा सवैमा विदितै छ । जसमध्ये मिति २०८१ माघ २४ सम्म संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण, सशर्त अनुदान, समपुरक अनुदान, बिशेष अनुदान, राजश्व बाँडफाँडबाट तथा नगरपालिकाको आन्तरिक स्रोत समेतबाट रु. ५५ करोड ७४ लाख ९३ हजार आम्दानी भएको छ । जसमध्ये चालुतर्फ रु. २६ करोड ३५ लाख १२ हजार अर्थात ४१.४५ प्रतिशत र पुँजिगततर्फ रु. ८ करोड ५३ लाख ७२ हजार अर्थात् २०.९९ प्रतिशत रकम खर्च भएको छ । हालसम्म कुल विनियोजित बजेटको ३३.४६ प्रतिशत खर्च हुन आएको छ ।
क्षेत्रगत रुपमा गरिएका कार्यहरुको संक्षिप्त जानकारी
योजना तथा घरनक्शा शाखातर्फः
१) सिद्धार्थनगर नगरपालिकामा नेपाल सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट भएको भौतिक पूर्वाधारतर्फका योजनाहरु कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाइ सकिएको छ । नगरपालिकाको आर्थिक बर्ष २०८१–०८२ मा २०८१ पुस मसान्तसम्म पूर्वाधार निर्माणतर्फ ५९ वटा योजनाहरु बोलपत्र तथा दरभाउपत्रका माध्यमबाट सूचना प्रकाशन भएकोमा ४६ योजना सम्झौता भइ बाँकी १३ वटा योजनाहरु सम्झौताको प्रक्रियामा छन् । ठेक्का खोलिएका योजनाहरुको काम सम्पन्न भए पश्चात् ग्राभेल सडक तर्फ ५.७ कि.मि., नाली निर्माणतर्फ ६.५ कि.मि. (एकतर्फी), आरसिसी सडकतर्फ ३५२ मिटर तथा आरसिसी भवन निर्माणतर्फ १२ वटा, ट्रसबाट निर्माण गरिने भवनतर्फ ३ वटा रहेका छन् । सार्वजनिक जग्गा तथा नगरपालिकाका विभिन्न भवनहरुमा पर्खाल निर्माण तर्फ १३९.७५ मिटर, स्टोन मसोनरी वालतर्फ ९३ मिटर निर्माण भैरहेको छ । यसै आर्थिक वर्षमा कार्यालय संचालनका लागि निर्माणमा रहेको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरी सोही भवनबाट सेवा प्रवाहको शुभारम्भ हुने छ ।
२) एशियाली विकास बैंक, नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा संचालित हुन गइरहेको युआरएलआईपी योजना अन्तर्गत नगरपालिका भित्रका सडक आरसिसी तथा अस्फाल्ट पिचमा २३.६२ किमि निर्माण हुनेछ भने सोही सडकहरुमा स्ट्रिट लाइटको समेत काम हुनेछ । नाला निर्माणतर्फ ४२.९ किमि तथा निर्माण भएका सडकहरुमा खानेपानीको पाइप नभएका स्थानहरुमा खानेपानीको पाइप आवश्यकताका आधारमा जडान हुने गरी मिति २०८१–८–२७ मा सिद्धार्थनगर नगरपालिका र निर्माण व्यवसायीबीच रु. १,१८,१५,८२,९३०.८२ (एक अर्ब अठार करोड पन्ध्र लाख बयासी हजार नौ सय तिस दसमलव बयासी) बराबरको कार्य गर्ने गरी सम्झौता भएको छ । सोको छिट्टै कार्य प्रारम्भ छ । डण्डा करिडोर निर्माणको लागि बिस्तृत सम्भाव्यता अध्ययन शहरी विकास मन्त्रालय मार्फत् भइरहेकोले यो समेत छिट्टै कार्यान्वयनमा आउने विश्वास छ ।
३) २०८१ श्रावणदेखि पुस मसान्तसम्म घरनक्शामा १२८ वटा नक्सा दर्ता भएका छन् भने ७२ वटा घरनक्सा अस्थायी स्वीकृत प्रदान गरिएको छ । दर्ता भएका नक्शा र विगतमा स्थायी स्वीकृत हुन बाँकी भएका नक्सा समेत गरी ११४ वटा नक्सा स्थायी, १२४ घरनक्साहरुको सम्पन्न प्रमाणपत्र जारी गरिएको छ । १६औँ नगरसभाबाट पारित भएको घर नक्सा नियमित वा अभिलेखिकरण गर्ने ऐन, २०८१ बमोजिम अभिलेखिकरणका लागि अनलाइन प्रणाली मार्फत् दर्ता भएका घरनक्सा १३४ वटा रहेकोमा ७३ वटा नक्शाको अभिलेखिकरण भएका छन् भने ५१ वटा नक्साको नामसारी भएका छन् ।
शिक्षा शाखातर्फ
१) सामुदायिक र धार्मिक विद्यालयका अपांगता भएका विद्यार्थी स्क्रिनिङ कार्य अगाडि बढाइएको छ ।
२) विद्यालयहरुमा नियमित रुपमा निरीक्षण अनुगमन गरी आवश्यक सुझाव र पृष्ठपोषण दिइएको छ ।
३) सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीहरुलाई आवश्यकता अनुसार सेनिटरी प्याड उपलब्ध भइरहेको छ ।
४) नगरपालिकास्थित १० वटा माध्यमिक विद्यालयको कक्षा ८, ९ र १० मा मातृ संस्थाबाट नेपाली विषयको डिजिटल कार्यक्रम सञ्चालन भएको छ ।
५) नगरपालिकास्थित ३ वटा माध्यमिक विद्यालयहरु बेलहिया मावि, नवदुर्गा मावि र रुपन्देही लिलाराम न्यौपाने माविमा स्मार्टवोर्ड उपलब्ध गराइएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण शाखातर्फ
१) महिला तथा समाजकल्याणतर्फ महिला २८ जना र पुरुष ३२ जना गरी जम्मा ६० जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । महिला ७ जना र पुरुष ८ जना गरी जम्मा १५ जनालाई विभिन्न वर्ग (क, ख, ग र घ वर्ग) अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । त्यस्तैगरी लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानको अवसरमा प्रभातफेरी कार्यक्रम, सचेतनामूलक नाटक प्रदर्शन कार्यक्रम, आवधिक गृहमा आश्रित महिला बालबालिकाहरुका लागि प्रतिभा प्रष्फुटन कार्यक्रम र लैङ्गिक सामानता तथा सामाजिक समावेशीकरण परीक्षण सञ्चालन गरी कार्यक्रम सम्पन्न गरिएको छ ।
२) अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने कार्य सम्पन्न भएको छ । बेइजिङ घोषणापत्रको १२ वटा प्रतिवद्धताको अभिमुखीकरण कार्यक्रम लैङ्गिक समानता तथा समाजिक समावेशीकरण परीक्षण कार्यक्रम सम्पन्न भएका छन् । यसबाट ६९ अंक प्राप्त भएको छ । यो अंक गत बर्ष भन्दा ५ अंकले कमी आएको छ । यसमा सुधार हुनुपर्ने जरुरी देखिएको छ ।
सामाजिक विकास शाखातर्फ
१) राष्ट्रिय बाल दिवशको अवसरमा आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम संचालन भइ सम्पन्न भएको छ।
२) अन्तर्राष्ट्रिय अपाङ्ग दिवशको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बीच चित्रकला प्रतियोगिता सचालन भइ सम्पन्न भएको छ ।
३) सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्रका ५ वटा सामुदायिक विद्यालयमा लागूऔषध नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सचालन भइ सम्पन्न भएको छ ।
४) सामाजिक विकास शाखाबाट दर्ता भएका संस्थाहरुलाइ सुचिकृत गर्ने कार्यहरु सम्पादन भइरहेको छ।
सामाजिक सुरक्षा तथा पञ्जिकरणतर्फ
१) सिद्धार्थनगर नगरपालिकाको सामाजिक सुरक्षातर्फ पहिलो त्रैमासिकमा २८७९ जना जेष्ठ नागरिक, २१६ जना जेष्ठ नागरिक (दलित), ४५४ जना एकल महिला, ९९९ विधवा, ३१५ जना अपाङ्गता, १२२ जना दलित बालबालिका, ७९ जना लोपोन्मुख जाती समेत गरी जम्मा ५०६४ जना लाभाग्राहीलाइ बैंक मार्फत् रु. ५ करोड १० लाख ४६ हजार १ सय ९८ रुपैयाँ वितरण गरिएको छ । दोस्रो त्रैमासिकमा २९८० जना ज्येष्ठ नागरिक, २३७ जना जेष्ठ नागरिक (दलित), ४६४ जना एकल महिला, १०३८ विधवा, ३२२ जना अपाङ्गता, १३५ जना दलित बालबालिका, ७९ जना लोपोन्मुख जाती समेत गरी जम्मा ५२५५ जना लाभाग्राहीलाइ बैंक मार्फत् रु. ५ करोड २७ लाख ७१ हजार ३ सय ३ रुपैयाँ वितरण गरिएको छ । २०८१ बैशाख १ गते देखि २०८१ पौष मसान्तसम्म व्यक्तिगत घटनातर्फ जन्म दर्ता संख्या ५३०, मृत्यु संख्या १९७, विवाह संख्या २२९, सम्बन्ध बिच्छेद ३६, बसाइँसराइँ आएको संख्या ११४ (३५२ जना) गएको संख्या ८२ (२५१ जना) छ ।
कृषि र पशु सेवातर्फ
१) सिद्धार्थनगर नगरपालिकाको आयोजना र एचएआरटी नेपालको प्राविधिक सहयोगमा २०८१ असोज १८ गतेदेखि असोज २३ गते सम्म सिद्धार्थनगर नगरपालिकामा रहेका छाडा कुकुर मध्ये २५४ कुकुरहरुलाई बन्ध्याकरण तथा रेविज भ्याक्सिनेशन एवं ब्यबस्थापन गर्ने कार्य सम्पन्न गरिएको छ ।
२) कृषकको माग, पशुसंख्या र आवश्यकताको आधारमा १६० जना कृषकहरुलाइ ७५ प्रतिशत अनुदानमा मिनिरल सप्लिमेन्ट (१ के.जी.) पाउडर १३० जना क्याल्सियम (ल्याक्टोकल) ५ लिटरको ३५ जार र २ लिटरको गरि ९५ जार, मल्टिभिटामिन ५०० मि.ली.को १३० बोतल बितरण गरियो ।
३) नगरपालिकाका पशुपालक किसानलाई माग गरे अनुसार पशु संख्या र आवश्यकताको आधारमा घाँसको बीउ (बर्सिम तथा जै) कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनदुानमा ९०० के.जी हिउँदे बर्सिम घाँसको बिउ र ७५० के.जी. जै को बिउ बितरण गरिएको छ ।
४) ‘अबरोध हटाऔ, रेविज उन्मुलन गरौँ’ नाराका साथ साप्ताहिक रुपमा बिश्व रेबिज दिबस २०८१ भेटरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, भैरहवा रुपन्देहीको प्राबिधिक तथा भ्याक्सिन सहयोग र सिद्धार्थनगर नगरपालिका भैरहवा रुपन्देहीको आयोजनामा असोज ६ देखि १२ गते सम्म घरपालुवा तथा छाडा कुकुर बिरालाहरुलाई रेविज बिरुद्धको खोप लगाएर कार्यक्रम सम्पन्न गरिएको छ ।
५) कृषकहरुको मागको आधारमा २८० जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा तोरीको उन्नत बिउ संचालन गरी उन्नती र मोरङ्ग तोरी २ जात (कालो) तोरी ७५० के.जी. बितरण गरिएको छ ।
५) कृषकहरुको मागको आधारमा ७४० जना कृषक च्याउको बिउ तथा प्लाष्टिक थैला (एक प्याकेट च्याउको बिउ बराबर दुई वटा प्लाष्टिक थैला) ७५ प्रतिशत अनुदानमा ३३०० प्याकेट च्याउको बिउ र ६६०० प्लाष्टिक थैला बितरण गरि सम्पन्न गरिएको छ ।
६) कृषकहरुको मागको आधारमा २४८ जना कृषकलाइ ७५ प्रतिशत अनुदानमा प्याजको उन्नत बिउ १२४ के.जी. (२५० ग्रामको प्याकेट ४९६ वटा) बितरण गरिएको छ ।
७) कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा ५८६ जना किसानलाइ ८८० बोरा (४० के.जी. को) जम्मा ३५२०० के.जी. एन.एल. ९७१, बाणगंगा र बिजय जातको उन्नत बिउ बितरण गरिएको छ ।
८) नगर सरसफाइ, सडक बत्ति व्यवस्थापन गर्ने कार्यहरु नियमित रुपमा भइरहेका छन् ।
राजश्व तथा उद्योग प्रशासन सम्बन्धी
१) कर प्रणालीमा सुधार गर्दै स्थानीय तहको क्षेत्राअधिकार भित्र पर्ने कर तथा गैरकर राजश्व संकलन गर्न नेपाल सरकारले राजश्व संकलनका लागि तयार गरेको सुत्र प्रणालीलाई पूर्णतः कार्यान्वयन गरी दैनिक रुपमा सम्पूर्ण आम्दानीहरुको लेखाजोखा गर्न सकिनेगरी व्यवस्थित गरिएको छ । आ.व. २०८१–०८२ लाई “कर सहभागिता वर्ष” घोषणा गरिएकोमा करको दायरा विस्तारको लागि २०८१ श्रावण देखि पुष महिनासम्म कर सहभागिता अभियान सञ्चालन गरी नगरभित्र संचालनरत सबै उद्योग, व्यवसाय, फर्म आदिको लगत तथा तथ्याङ्क तयार गर्ने कार्य भैरहेको र १३ वटै वडामा घुम्ति शिविर सञ्चालन गरी उद्योग–फर्म दर्ता तथा व्यवसाय दर्ता एवम् नविकरण कार्य सञ्चालन गरिएको छ ।
२) राजश्व प्रशासनलाई चुस्त बनाउँदै विद्युतीय माध्यमबाट कर तिर्ने प्रणालीको विकास गर्न राजश्व संकलनलाई फेसलेस–क्यासलेस बनाउने नीति कार्यान्वयन भएको छ । हाल सञ्चालनमा रहेको सफ्टवेयरबाट आगामी दिनमा नागरिकले घरबाटै आफूले तिर्नुपर्ने कर तथा शुल्कहरु तिर्न बुझाउन सक्ने व्यवस्था सिघ्र कार्यान्वयन गरिने र हाल नगद बोकेर कर तथा शुल्क बुझाउन जानुपर्ने अवस्थालाई सुधार गरी क्यूआरकोर्ड मार्फत् भुक्तानी गर्न सकिने व्यवस्था सुरुवात भएको छ । राजश्व तथा आर्थिक विकाससँग सम्बन्धित आवश्यक कार्यविधि तर्जुमा तथा कार्यविधिलाई समयसापेक्ष संशोधन गरिएको छ । जसअन्तर्गत तीनपाङ्ग्रे सवारी साधन सञ्चालन व्यवस्थापन सम्बन्धी कार्यविधिलाई संशोधन भएको छ भने सहकारीसँग सम्बन्धित ३ वटा कार्यविधि तथा मापदण्ड र विज्ञापन तथा प्राइभेट फर्म दर्ता सम्बन्धी १–१ वटा कार्यविधिहरु जारी गरी दर्ता तथा नियमन प्रक्रिया सरलीकृत गरिएको छ ।
३) प्राइभेट फर्म दर्तातर्फ उद्योगतर्फ कुल १५० वटा फर्महरु दर्ता भएका छन् भने ४ वटा प्राइभेट फर्महरु चालू आर्थिक वर्षमा लगतकट्टा गरिएको छ ।
उद्योग तथा वाणिज्यतर्फको फर्महरुको तथ्याङ्क
१) व्यवसाय दर्ता तथा नवीकरण तर्फ चालू आर्थिक वर्षमा २०८१ पौष मसान्तसम्म दर्ता तथा नवीकरण भएका व्यवसायहरु २८४७ वटा रहेका छन् ।
२) तीनपाङ्ग्रे सवारी साधन सञ्चालन व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ लाई पहिलो संशोधन सहित २०८१ का आधारमा तीन पाङ्ग्रे सवारी साधन दर्तातर्फ गतवर्ष सम्म १८५ वटा दर्ता रहेकोमा चालू आर्थिक वर्षमा पटक पटक सूचना प्रकाशन गरी २८८ वटा नयाँ दर्ता थप भई कुल ४७३ वटा अटो तथा ई–रिक्सा दर्ता भएका छन् । दर्ता भएका तीन पाङग्रे सवारी साधनहरुको अनुगमन भइरहेको छ ।
३) घ वर्गको ईजाजतपत्र दर्ता तथा नवीकरण तर्फ चालू वर्षमा कुनै पनि नयाँ ईजाजत पत्र जारी भएको छैन् भने नवीकरण भएका ६८ वटा र नवीकरण नभएको फर्महरु ३६ वटा गरी कुल ईजाजतपत्र प्राप्त फर्महरु १०४ वटा रहेका छन् ।
४) राजश्व संकलनतर्फ गत आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा कुल ७ करोड ४५ लाख ९१ हजार ५३६ रुपैया र ३७ पैसा आम्दानी भएकोमा चालू आर्थिक वर्षको पुष मासन्त गते सम्म ८ करोड ९ लाख ८ हजार ८६८ र ६५ पैसा आम्दानी भएको छ । जुन कुल लक्ष्यको ३२.४३ प्रतिशत रहेको छ ।
सहकारीतर्फ
नगरक्षेत्रभित्र संचालनमा रहेका सहकारीहरुको समन्वयकारी संस्थाको रुपमा सिद्धार्थनगर सहकारी संजाल दर्ता गरिएको छ । संजाल संगको सहकार्यमा सहकारी प्रबद्र्धन गोष्ठि आयोजना गरी सहकारीको वर्तमान अवस्था बारे सरोकारवालासँग जानकारी लिइएको छ । चालु आ.ब. को लागि स्वीकृत कार्यक्रम बमोजिमका तालिमहरु संचालन भएका छन् भने सहकारीको सघन अनुगमन गरी प्रोफाइल तयार गर्ने कार्य भइरहेको छ ।
सूचना प्रविधितर्फ
१) नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम बमोजिम नगरपालिकाका मुख्य चोक एवं भिडभाड हुने स्थानहरुमा फ्रि वाईफाइ जोन बनाइएको छ ।
२) नगरपालिकालाई थप व्यवस्थित र सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन सिस्टम (एएनपिआर) जडान गरि कार्यान्वयनमा ल्याइएको छ ।
स्वास्थ्यतर्फ
१) सिद्धार्थनगर नगरपालिका अन्तर्गतका ८ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ६७०२ जना ओपीडी सेवा लिई नेपाल सरकारबाट निःशुल्क वितरण गर्ने भनी जनाइएका औँषधीहरु निःशुल्क वितरण गरिएको छ । नियमित खोप सेवामा अन्तरगत (भिम तथा मेडिकल कलेज) मा ६२०८ जना, अस्पतालमा सुत्केरी सेवा लिने ३८४१ जना सेवाग्राही रहेका छन् ।
२) ०–२३ महिना सम्मका बालबालिकाहरुको नियमित बच्चाको वृद्धि (तौल) अनुगमनलाई प्रोत्साहन प्रदान गर्नको लागि सर्बोत्तम पिठो खरिद गरि १७५६ जना बालबालिकाहरुलाई वितरण गरियो छ । यो कार्यक्रम निरन्तर रुपमा संचालनमा रहने छ ।
३) मृगौला प्रत्यारोपण ९, डायलाइसिस ३४, क्यान्सर रोगी संख्या ७८ र मेरुदण्ड पक्षघात बिरामिहरु संख्या १ लाई उपचार खर्च रु. ५००० दरले १९ लाख उपलब्ध गराइएको छ ।
४) नगरवासीको स्वास्थ्य सेवामा सरल र सहज पहुँचको लागि वडा नं. ६ र वडा नं. ७ मा दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु स्थापना गरी सेवा शुरु गरिएको छ भने वडा नं. ४ र ८ निकट भविष्यमा स्वास्थ्य सेवा शुरु गर्ने तयारीमा रहेको जानकारी गराउन चाहन्छु ।
४) सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापन कार्यविधि, २०७८ बमोजिम स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन तोकिएको मापदण्ड बमोजिम डी–ई समूहका ३ ओटा ल्याव संचालनको लागि स्वीकृत प्रदान गरिएको छ ।
न्यायिक शाखातर्फ
१) आर्थिक वर्ष २०८०–०८१ बाट जिम्मेवारी सरेका जम्मा विवादको सङ्ख्या ८ रहेको र चालु आर्थिक वर्षको पौष मसान्तसम्म दर्ता भएका ६ विवाद गरी जम्मा १४ वटा विवाद रहेका छन् । जसमध्ये ५ वटा विवाद दुई पक्षको सहमतिमा समधान भएका छन् भने ४ वटा विवाद अदालतमा जानु भनी फछ्र्यौट गरिएको छ । ५ वटा विवाद निरुपणको प्रक्रियामा छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ
१) वैदेशिक रोजगारमा मृत्यु भएका श्रमिकहरुको ५ परिवारलाई प्रत्येक परिवारलाई ७ लाखका दरले आर्थिक सहायता प्रदान गर्ने कार्यमा सहजिकरण गरिएको छ ।
२) नगरका सबै क्षेत्रहरूलाई समेट्दै, दिगो विकासका लक्ष्यहरूलाई मूर्त रूप दिन नगर सभाका सम्पूर्ण सदस्यहरू, राष्ट्रसेवक कर्मचारीहरु र नगरवासीहरूको सक्रिय सहभागिता अपरिहार्य छ । म यस यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु, ताकी हामीले हाम्रो नगरलाई आधुनिक, प्रगतिशील र समृद्ध बनाउन सकौँ भन्ने आव्हान गर्न चाहन्छु ।
अन्त्यमा,
सुशासन तथा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरुले विस्तारै गति लिँदै गएका छन् । नगरवासीले अनुभूती गर्ने गरी विकासका प्रतिफलहरु समयक्रमसँगै प्राप्त हुनेछन् । सो कार्यमा मैले सम्पूर्ण नगरसभाका सदस्यहरु तथा राष्ट्रसेवक कर्मचारीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको छु ।
(नगर प्रमुख खाँले सोमबार नगरपालिकाको हिउँदे अधिवेशनमा जारी गरेको वक्तव्यको सम्पादित अंश)