भैरहवा । भैरहवामा आईतबारबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाट्न खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २ सय ९ रनको लक्ष्य दिएको छ ।
भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ्ग रोजेको लुम्बिनी ४८ ओेभरमा आफ्ना सबै विकेट गुमाउदै २ सय ८ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ६६ रन बनाए । ९० बलको सामना गर्दै आकाशले ७ चौका र १ वटा छक्का प्रहार गरे । मृनाल गुरुङ्गले ६१ बलमा ५ चौकाको सहायताले ४३ रन बनाए भने नर सार्कीले ४५ रनको ब्यक्तिगत स्कोर जोडे । लुम्बिनीले १२ रन अतिरिक्त रनको रुपमा पाएको छ ।
बलिङ्ग तर्फ कोशी प्रदेशका प्रकाश कार्कीले १० ओभरमा २ मेडेन सहित ३३ रन खर्चिएर ३ विकेट र दिपेश कंडेलले १० ओभरमा १ मेडेन राख्दै २७ रन खर्चेर ३ विकेट लिए । यसै गरि फिर्दोश अन्सारीले २ तथा विपिन महतो र अंकित सुवेदीले समान १÷१ विकेट हासिल गर्नुभयो ।
आईतबार नै रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा शसस्त्र प्रहरी १ सय ७४ रनमै अलआउट भएको छ । टस जितेर ब्याटिङ्ग रोजेको शसस्त्रले निर्धारित ५० ओभर खेल्न सकेन । ४४ ओभरमै आफ्ना सबै विकेट गुमाउदै शसस्त्रले बाग्मतीलाई १ सय ७५ रनको झिनो लक्ष्य दिएको छ ।
शसस्त्रका लागि सन्दिप जोराले सर्वाधिक ३७ रन बनाए । यस क्रममा उनले ६२ बलको सामना गरि २ चौका मात्र प्रहार गरे । अमर रौटेलाले २६ रन र दिपक बोहराले २५ रनको व्यक्तिगत योगदान गरे । बाग्मतीले बलियो टिम मानिएको शसस्त्रलाई सुरुवात देखि नै दबावमा राखेको थियो ।
शसस्त्रलाई सस्तोमै समेट्न बाग्मतीका राजन ढकालको ५ विकेट महत्वपूर्ण रहयो । ८ ओभर फालेका राजनले २ मेडेन राख्दै ३० रन खर्चिए । यसै गरि नन्दन यादवले ३ र सूर्य तामाङ्गले २ विकेट लिए ।
दाङ्गको देउखुरी क्रिकेट रङ्गशालामा भने सुदूरपश्चिम र कर्णाली प्रदेश बिच भएको खेलमा कर्णाली प्रदेश १ सय २५ रनमै अलआउट भएको छ । पिचको कारण ढिलो सुरु भएको खेलमा टस जितेर कर्णालीले ब्याटिङ्ग रोजेको थियो । ढिलो भएको कारण ४३ ओभरमा झारिएको खेलमा ३६ दशमलव १ ओभरमै कर्णालीले आफ्नो सबै विकेट गुमाएको छ । उसका लागि अजर्सन घर्तिले ४८ रन बनाए पनि अन्य ब्यट्सम्यानहरु चल्न नसक्दा कर्णाली उदघाटन खेलमा १ सय २५ रनमै अलआउट भएको छ । कर्णालीका लागि दिनेश अधिकारीले १७ र दिवस पुनले १२ रनको योगदान गरे ।
बलिङ्ग तर्फ सुदूरको हेमन्त धामीले ३ विकेट लिदा शेर मल्ल, मिलन बोहरा, भोजराज भट्ट र नारायण जोशीले समान १/१ विकेट बाडे ।
यस अघि भैरहवामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सातवटै प्रदेशमा क्रिकेटका आधारभूत तहको भौतिक पूर्वाधारयुक्त रङ्गशालाहरु निर्माण गर्ने आवश्यकता रहेको बताए । उनले अभावका बिचमा नेपालको क्रिकेट क्षेत्रले अभूतपूर्व सफलता हात पारेको बताए । “अभावकै विचमा जुन नेपाल क्रिकेट खेलले अन्र्तराष्ट्रिय छवि निर्माण गरेको छ यसलाई कायम राख्न नेपाल सरकार पनि लागेको छ ।” उनले भने “प्रधानमन्त्री कप क्रिकेट कपले नेपालको क्रिकेटको क्षेत्रमा थप हौसला वृद्धि गर्नेछ ।”
उनले क्रिकेटको विकास संगै यसको पूर्वाधारको विकासको लागि सिमित बजेटले मात्र नभई यसलाई निजि क्षेत्रबाट पनि प्रवेश गराई अगाडी बढ्नुपर्ने सुझाव राखे । “एनपिएल को जसरी नेपालमा सुरुवात भएको छ यसले नेपालमा थप लगानीको प्रवद्र्धन गर्ने गरि नेपालका क्रिकेट क्षेत्रमा आशा जागेको छ ।” मन्त्री भण्डारीले भने “जसरी टिममा निजि क्षेत्रले लगानी गर्ने वातावरण बनेको छ यसलाई वृद्धि गर्दै नेपालको पूर्वाधारमा निजि क्षेत्रलाई आव्हान गर्न आवश्यक छ ।”
उनले पूर्वाधार निर्माणमा उहाँले एउटा पालिका एउटा खेलमैदानको रुपमा निति लिई अगाडी बढ्ने बताए । आधारभूत तहबाट सरकारले यसको सुरुवात गरेको बताउदै मन्त्री भण्डारीले थुप्रै पालिका स्तरमा खेलकुद मैदानहरु निर्माण आवश्यकता बनिसकेको जिकिर गरे ।
लुम्बिनी प्रदेश क्रिकेट संघको व्यवस्थापनमा भईरहेको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत यस पटक ४६ वटा खेलहरु खेलाईने छ । यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तराष्ट्रिय रङ्गशालामा आयोजना हुदै छ ।
प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाउदै छन् । यी सबै टोलीहरुले एक अर्कासंग खेल्नुपर्नेछ ।
पहिलो दिन सिद्धाथै क्रिकेट रङ्गशालामा लुम्बिनी र कोशी प्रदेश, एक्स्ट्राटेक ओभलमा बिभागीय टोली शसस्त्र प्रहरी र बाग्मती प्रदेश तथा लमहीको देउखुरी रङ्गशालामा सुदुरपश्चिम र कर्णाली प्रदेशको बिचमा खेलहरु चलिरहेका छन् ।
रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा उद्घाटन र फाईनल खेल समेत गरि सम्मा १७ वटा खेलहरु हुनेछन् । एक्स्ट्राटेक ओभलमा १५ र लमहिको देउखुरी रङ्गशालामा १४ वटा खेलहरु हुनेछन्