काठमाडौं । सूर्यको उपासना गरी निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि मनाइँदै छ । दिनभर उपवास बसेका व्रतालुले साँझ चामल, सक्खर र दूध मिलाएर बनाइएको खीर प्रसादका रूपमा ग्रहण गरी परिवार तथा छरछिमेकमा वितरण गर्ने चलन छ ।
सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामनासहित चार दिनसम्म मनाइने यो महापर्व शुक्रबार ‘नहाय खाय’ विधिबाट सुरु भएको हो । पर्वको मुख्य दिन भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् समापन हुनेछ ।