काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजना हुन लागेको ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले सहभागी विभिन्न मुलुकका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै सुरक्षाका क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानका विषयमा छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।
उक्त सम्मेलनमा उच्चस्तरको नीतिगत संवाद, कार्यशाला, तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कार प्रदानलगायतका कार्यक्रम सञ्चालन हुनेछन् । सम्मेलनमा कृत्रिम बौद्धिकतामा आधारित प्रहरी सेवा, साइबर तथा वित्तीय अपराध नियन्त्रण, आधुनिक फरेन्सिक प्रविधि, सङ्गठित अपराध, सीमा तथा अन्तरिक्ष सुरक्षालगायत १४ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने बताइएको छ ।