भैरहवा । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीले शहीद स्मारक र पिउने पानीको धारा स्थलको निर्माण गरेको छ । जसको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले उद्घाटन गरे।
क्वीक इम्प्याक्ट प्रोजेक्ट (क्यूआईटी) अन्तर्गत पिउने पानीको धारा जडान गरिएको सशस्त्र प्रहरी उपरीक्षक थापा मगरले बताए । ‘सीमा क्षेत्रमा आउजाउ गर्ने नागरिक तथा पर्यटकलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो’उनले भने– ‘सशस्त्र प्रहरीको यो सानो प्रयास हो, क्रमशः यस्ता गतिविधि बढाउँदै जानेछौं ।’क्यूआईटी सशस्त्र प्रहरी बलको प्रभावकारी योजना हो । सडक विभाग, स्थानीय तह, सर्वसाधरण लगायतसँग समन्वय र सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए ।
सिद्धार्थनगर नगरपालिका-१ पर्यटकीय गेट नजिकै सशस्त्र प्रहरीले पिउने पानीको धारा स्थल निर्माण गरेको हो । त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल (बि.ओ.पी. डण्डा), रुपन्देही अगाडि शहीद स्मारकको निर्माण गरिएको छ । नागरिकको जिउ, धन र स्वतन्त्रताको संरक्षण हेतु कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका सशस्त्र प्रहरीको सम्झनामा शहीद स्मारक निर्माण गरिएको एसपी थापामगरले बताए । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) मोहन न्यौपाने, चन्द्र कुमार थापा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बल, नेपालले २४ औं सशस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रम गर्दै मनाइरहेको छ ।