भैरहवा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीका राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीद्वारा भैरहवामा आयोजित सर्वपक्षीय अन्तरक्रियामा सहभागी उम्मेदवारहरूले निर्वाचनलाई स्वच्छ, भयरहित र कम खर्चिलो बनाउन आचारसंहिताको कार्यान्वयनमा सहमति जनाएका हुन् ।
कार्यक्रममा बोल्दै रुपन्देही–३ का एमाले उम्मेदवार बासुदेव पौडेलले व्यवहारिक कठिनाइका बाबजुद आचारसंहिता पालना गर्न आफू प्रतिबद्ध रहेको बताए । अन्य सहभागीहरूले विगतमा आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएको गुनासो गर्दै साना र ठूला दललाई समान व्यवहार गरिनुपर्ने, सामाजिक सञ्जालको मर्यादित प्रयोग हुनुपर्ने र दर्ता नभएका सञ्चारमाध्यमको प्रयोग रोक्नुपर्नेमा जोड दिए । स्वतन्त्र उम्मेदवारहरूले पूरा गर्न नसकिने भ्रामक घोषणापत्र र जथाभावी डिजे बजाउने कार्यमाथि निगरानी गर्न माग गरेका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले आचारसंहिता उल्लंघन भएमा उम्मेदवारी नै खारेज हुन सक्ने चेतावनी दिँदै भड्किलो प्रचार रोक्न आग्रह गरे । त्यस्तै, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकोले ढुक्क भएर मतदानको वातावरण बन्ने बताए ।