भैरहवा । रुपन्देही जिल्ला अदालतले नगद र कैद फैसला गरेको तर सो अनुसार सजाय भुक्तान नगरेका १६१ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले माघ महिनामा पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अन्तर्गत रुपन्देही प्रहरी अहिले यस्ता फरारहरु पक्राउ गर्ने र उनिहरुलाई रुपन्देही जिल्ला अदालतमा बुझाई फैसला कार्यान्वयन गराउने अभियान सञ्चालन गरिरहेको छ । सोही अन्तर्गत पुस महिनामा ८४ जना र माघ महिनामा १६१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौंरले बताए ।
बिहिबार भैरहवामा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै राठौरले सजाय अवधि तोकिएको २० वर्ष पछि १३ जना, १५ वर्ष पछि ४६ जना, १० वर्ष पछि ४८ जना, ५ वर्ष पछि ३४ जना र ५ वर्ष भन्दा कमको अवधिका २० जना गरि १६१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको बताए । उनले माघ महिनामा २४ वर्ष ५ महिना ५ दिन कैद असुल उपर र ३२ लाख ३२ हजार २ सय ९९ रुपैया जरिवाना असुल उपर गरिएको बताए ।
रुपन्देहीमा यस्ता करिब २ हजार ८ सय जना फरार प्रतिवादीहरु रहेको रुपन्देही जिल्ला अदालतको तथ्यांकले देखाएको उनले बताए । “यस मध्ये कतिपयलाई त आफुले पाएको सजाय बारे जानकारी नै छैन, यस्तालाई हामीले पक्राउ गरि अदालतमा पेश गरेपछि मात्र उहाँहरुको सजाय फछर्यौट हुने गरेको छ ।” राठौरले भने “कतिपयको भारतमै ठेगाना भएको छ भने कतिपय नेपालीहरु भारतमै गएर लुकेर बसेका छन्, यस्तो अवस्थामा कठिनाई आउने गरेको छ ।”
मासिक प्रगति पेश गर्दै राठौरले माघ महिनामै १३ जना मोटरसाईकल चोरी गर्ने अभियुक्तहरुलाई पक्राउ गरिएको बताए । रुपन्देही जिल्लाका विभिन्न भागबाट मोटरसाईकल चोरी भएको घटनाहरु आए पछि प्रहरी यसको नियन्त्रणमा सक्रिय भएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा यस मातहतका निकायबाट गरेर माघ महिनामा १३ वटा चोरीका मोटरसाईकल सहित १३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ७ जना सैनामैना नगरपालिकाका एउटै वडाका रहेका छन् भने २ जना भारतीय नागरिक समेत रहेको उनले बताए ।
यसै अवधिमा कल/म्यासेज बाईपासमा संलग्न रहेको आरोपमा नवलपरासी (बसुप) प्रतापपुर गाउँपालिका घर भई हाल सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ का गुलाब चन्द्र गुप्ताको घरमा डेरामा बस्ने रोहित अहिरलाई पक्राउ गरिएको उनले बताए । अहिरको डेराबाट स्पोईलर कम्पनीको हब ९ थान, ४ थान सिपियु, मोडेम १६७ थान, नेपाल टेलिकमको १९० थान र एनसेलको २७० थान सिम लगायतका अन्य समेत बरामद भएको उनले बताए ।
माघ महिनामा रुपन्देही प्रहरीले ८० लाख ५४ हजार ४ सय ५६ रुपैया बराबरको भन्सार छलीका विभिन्न वस्तुहरु बरामद गरि भैरहवा भन्सार कार्यालय चलान गरेको छ । यसै अवधिमा जिल्लामा १३० वटा विभिन्न मुद्दाहरु दर्ता भएको र ५० वटा फछर्यौट भएको छ ।