काठमाडौं । खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको टुकुचा खसी बजारबाट ८ जनालाई पक्राउ गरेको छ। शनिबार बिहान ४ बजे जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जाँच गर्दा ५६७ किलो बाख्राको मासु भ्यान र पिकअपमा लोड गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा र धादिङका २६ वर्षीय सनम तामाङसहित ८ जना रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।