अर्घाखाँची । पाणिनि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा आफ्नो कुल बजेटको ८७.८६ प्रतिशत खर्च गर्न सफल भएको छ। गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु तथा पूँजीगत दुवैतर्फको खर्च सन्तोषजनक रहेको छ।
गाउँपालिकाले कुल ६६ करोड २३ लाख ९४ हजारको बजेटमध्ये पूँजीगत तर्फ ८९.८३ प्रतिशत र चालु तर्फ ८७.१९ प्रतिशत बजेट खर्च गरेको हो। यस अवधिमा पालिकालाई कुल बजेटको ९४.३८ प्रतिशत अर्थात् ६२ करोड ५२ लाख ५ हजार रुपैयाँ आम्दानी भएको थियो।
प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार, आर्थिक वर्षको सुरुवातमै योजना छनोट, सम्झौता र अनुगमन प्रणालीलाई सुदृढ पारिएकाले बजेट कार्यान्वयनमा उल्लेख्य प्रगति भएको हो। उनले पछिल्ला वर्षहरूको तुलनामा यो वर्ष खर्चको गति राम्रो रहेको र आगामी वर्षमा यसलाई अझै बढाउने लक्ष्य रहेको बताए। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट खर्च गरेको जनाएको छ।