काठमाडौं । नेपाली सेनाले मुलुकमा शान्ति सुरक्षा कायम राख्नका लागि हाल जारी निषेधाज्ञा र कर्फ्यूको पालना गर्न सबै राष्ट्रवासीमा अपिल गरेको छ। रक्षा मन्त्रालयको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार, आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका लागि सहकार्यको अनुरोध गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि अराजक व्यक्ति र समूहहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण र बलात्कारका प्रयास जस्ता क्रियाकलापहरू गरिरहेको र गर्नसक्ने सम्भावना रहेकोले देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी यो कदम चालिएको हो ।
- मुख्य बुँदाहरू:
- निषेधाज्ञा: आज (२०८२ भाद्र २५ गते) बेलुकी ५ बजे (१७:०० बजे) सम्म देशभर जारी रहनेछ।
- कर्फ्यू: भोलि (भाद्र २६ गते) बिहान ६ बजे (०६:०० बजे) सम्म कर्फ्यू आदेश जारी रहनेछ। परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिनेछ।
- अत्यावश्यक सेवाका सवारी साधनहरू: एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू सञ्चालन हुन सक्नेछन्।
- सहयोगको लागि अनुरोध: आवश्यक सहजताको लागि नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध गरिएको छ।
- कडा कारवाही: आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुने चेतावनी दिइएको छ।
- अफवाहबाट बच्न अपिल: अवकाश प्राप्त सैनिक लगायतका सुरक्षाकर्मीहरू, सबै सेवाका राष्ट्रसेवकहरू, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई अफवाहको पछाडी नलागी आधिकारिक सूचनाहरू मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न अनुरोध गरिएको छ।
- राष्ट्रिय एकता र सामाजिक सद्भाव: नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाईराख्न आ-आफ्नो दायित्वलाई निरन्तरता दिनुहुने कुरामा विश्वस्त रहेको जनाएको छ।
- मानवीय उद्धारमा प्रतिबद्धता: जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुर्याउन हार्दिक अपिल गरिएको छ।
थप जानकारीका लागि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय (टेलिफोन नं. ५९७९५७१, ईमेल: [email protected]) मा सम्पर्क गर्न सकिनेछ।