भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को भैरहवागाउँ टोल सुधार समितिको प्रथम साधारण सभा विहिवार सम्पन्न भएको छ । टोलसुधार समितिले स्थापनको आफ्नो पहिलो वर्षमै टोल सरसफाइमा मात्र केन्द्रित नभइ टोलमा जनचेतना फैलाउनुको साथै बृक्षारोपण लगायत काममा पनि सकृय रहेको टोल सुधार समितिका अध्यक्ष ठाकुर प्रसाद अधिकारीले बताए ।
यस संगै टोलमा आइपरेका अन्य समास्याहरुमा प्रत्यक्ष रुपमा सहभागी भइ समाधानको प्रयास तथा सार्वजनिक मठ मन्दिर र सार्वजनिक जग्गाको संरक्षणमा पनि लागेको उनले बताए ।
कोषाध्यक्षको प्रतिवेदन सार्वजनिक गर्दै सहसचिव मनोज ढाढीले सदस्यहरुकै सहयोगमा समिती सन्चालनमा रहेको जनाए । उनले समितिले गर्ने सबै क्रियाकलापहरु समितिले आफै रकम संकलन गरि सन्चालन गरिरहेको जनाए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाको निर्देशिका अनुसार टोल सुधार समिती गठन भएकोले यसको संरक्षणसंगै समिति सन्चालनको लागि प्रशासनिक खर्चको लागि नगरपालिकाले नै सहयोग गर्नुपर्ने बताए । आर्थिक श्रोतकै अभावमा समितिले गर्न सक्ने अन्य जनचेतनामुलक कार्यक्रम गर्न नसकेको वक्ताहर्को गुनासो थियो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरेले टोल सुधार समितिले नगर र वडाका काम गर्न धेरै सहज भएको बताए । नगर र वडा सन्देश र अन्य सूचनाहरु टोल सुधार मार्फत घर घरमा पुर्याउन धेरै सहज भएको उनको भनाइ थियो । उनले टोल सुधार समितिहरुलाइ अझै शसक्त बनाउनका लागि वडाले नगरमा प्रस्ताव लगेको बताए ।
भैरहवागाउँ टोल सुधार समितिका अध्यक्ष ठाकुर प्रसाद अधिकारीको अध्यक्षता, वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरेको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटीका सभापती दिपक क्षेत्री न्यौपानेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु प्रविणजङ्ग राणा, शुष्मा प्रधान, अभिषेक रावल नेपाली कांग्रेसका वसन्त कुमार लाल कर्ण, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन न्यौपाने, सल्लाहकार राम बहादुर श्रेष्ठ, डिक बहादुर विश्वकर्मा, प्रकाश ढाढी लगायतले बोलेका थिए । टोल सुधार समितिको सचिव सुजाता क्षेत्रीको सन्चालन र उपाध्यक्ष बिनोद विश्वकर्माको स्वागतमा सम्पन्न भएको थियो ।