जनकपुर । धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । यस्तै, अर्का युवक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी हुनुहुन्छ । यस्तै, २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार उपचारका क्रममा साफीको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका राइनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने २२ वर्षीय मोहम्मद इर्साद खान रहेको बताइएको छ । पुरानो रिसइबीका कारण दुवै जनाको छाती र पेटमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । आरोपी खानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।