भैरहवा । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल बनाएको छानविन उपसमितिले बिमानस्थल सञ्चालनको विषयमा सरोकारवालहरु संग अन्तरक्रिया सम्पन्न गरेको छ ।
आईतबार भैरहवा आईपुगेको टोलीले विमानस्थल निर्माणको गुरुयोजना, व्यवसायीक योजना, लागत, आर्थिक अनियमितता सञ्चालन हुन नसक्नुका कारण देखि आगामी दिनमा कसरी विमानस्थल सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेको यसका संयोजक योगेश भट्टराईले बताए । “राज्यको ठूलो लगानी भएको राष्ट्रिय गौरवका आयोजना किन यसरी अलपत्र भयो, सञ्चालनमा भएका कमजोरी पत्ता लगाई सरकारलाई सहयोग पुगोस भन्ने उद्देश्यले यहाँ आएका हौं ।” भट्टराईले भने “सरोकारवालाहरुबाट आएको सुझाव सहित उपसमितिको राय प्रतिवेदनको रुपमा सरकारलाई बुझाउने छौं ।”
भैरहवा विमानस्थल र पोखरा विमानस्थल राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये निर्माण सम्पन्न भएका आयोजना भएको बताउदै सम्पन्न भए पनि सञ्चालन हुन नसकेको कारण यसको विविध पक्षको अध्ययन गर्न यो समिति गठन भएको भट्टराईले बताए ।
उनले विमानस्थल सञ्चालनको लागि विदेशी एयरलाईन्सहरुसंग जुन तहको सम्वाद हुनुपर्ने हो त्यो नभएको बताए । यसर्थ सरकारले भारत र चीन सहित बुद्ध अनुयायी भएका देशहरु केन्द्रित गरि विमानस्थल सञ्चालनको लागि नेपाल सरकारलाई सुझाव दिन समितिले काम गरेको उनको भनाई छ । उनले भने “हाम्रो भ्रमणले नेपाल सरकारलाई यसको सञ्चालनमा ध्यान दिनेछ भन्ने हाम्रो अपेक्षा हो ।”
पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका भट्टराईले विमानस्थल सञ्चालन गर्ने काम सरकारको भएको बताउदै सरकारले सहयोग मागे आफुहरु त्यसको लागि तयार रहेको बताए । “हामी पनि भ्रमण गरेका केही सरकारसंग, त्यहाका निजि क्षेत्रसंग बसेर दुबै बिमानस्थल सञ्चालनको लागि हाम्रो पहल गर्नेछौं ।” उनले भने “सरकारले यो संसदिय समितिसंग सहयोग मागे भने पक्कै पनि हामी त्यो काम पनि गर्छौं ।”
संसदिय टोली सामु रुपन्देहीबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्यहरुले यसको सञ्चालनको लागि कडा रुपम लिन आग्रह गरे । पूर्वअर्थमन्त्री समेत रहेका सांसद बिष्णु प्रसाद पौडेलले सुरु देखि बिमानस्थल प्रति नकारात्मक धारणा फैलाउने काम भएको भन्दै रोष व्यक्त गरे । यो बनाउनै नहुने ठाउमा बनाएको, नचल्ने ठाउमा बनाएको लगायतको एउटा टिमले अफवाह फैलाईरहेका छ ।” पौडेलले भने “म यस्तो विचार र हल्ला प्रति खेद व्यक्त गर्न चाहन्छु, मेरो विश्वास के छ भने यो विमानस्थल चल्छ र राम्ररी चल्छ ।”
उनले विमानस्थल सञ्चालनमा कुनै दुविधा नमान्न आग्रह समेत गरे । उनले विधि नमिलेको कारणले विमानस्थल सञ्चालनमा ढिलाई भईरहेको जिकिर गरे । शिलान्यास गरेको मिति देखि नै सञ्चालनको तयारी गर्नुपर्नेमा त्यसो नगरिएकोले मात्रै ढिलो भएको उनको भनाई छ ।
यस्तै अर्का प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले विमानस्थल सञ्चालनको लागि मिति नै तोक्नुपर्ने जिकिर गरे । “विमानस्थल सरकारले चलाउनुपर्ने हो, निजि क्षेत्रले हैन ।” घिमिरेले भने “मासिक एउटा उडानको लागि करोडौंको खर्च किन गर्ने ? सञ्चालन नहुदा सम्म बढी कर्मचारी काठमाण्डौंमै लैजानुस ।”
कार्यक्रममा उपस्थित सरोकारवालाले सरकारलाई विमानस्थल सञ्चालनको लागि लेखा समितिले निर्देशन दिनुपर्ने सुझाव दिए । यस बाहेक भिसा सेन्टर, मेनपावर एजेन्सी, मेडिकल जाँच, आईएलयसको लागि भारत संग पहल लगायतका सुझावहरु सहभागीले दिए ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमनका लागि एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा आठ सदस्यीय उपसमिति भैरहवा आएको थियो । समितिमा अमरेशकुमार सिंह, मनीष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी रहेका थिए ।