काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार काठमाडौंमा मबाट महिलावादअन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनरसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत संगीत तथा अन्य प्रस्तुतिकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गरिएको हो । चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे प्रत्यक्ष चित्र बनाएका थिए । उनले अतिथिहरुबाट थिम लिएर दुईवटा चित्र बनाएका थिए । उनको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए ।
विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीहरुले मार्मिक नाटक प्रस्तुत गरे । नाटक हेरेर दर्शक भावुक बनेका थिए । सामाजिक परिवेशको विषयवस्तु गहन ढंगले उठान गरेर बुझाउने प्रयास गरिएको थियो ।
कवितामार्फत् मुनु अधिकारीले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी वास्तविकता अभिव्यक्त गरेकी थिइन् । कोपी र्यापरले प्रस्तुत गरेको र्यापमा दर्शकले सन्देशसँगै आनन्द लिएका थिए । उनको र्याप गीतमा महिलालाई सचेत गराइएको थियो ।
उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गरेका थिए । यसैगरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापति जयन्ती राईले विपद् प्रजनन स्वास्थ्य र अधिकारबारे ऐन निर्माणमा आफूले भूमिका खेल्ने बताइन् ।
एफडब्लुएलडीका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु, अधिकारकर्मी, विभिन्न कलेजका कानुनका विद्यार्थीहरुको उपस्थिति थियो ।