बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापाको हत्या घटनामा संग्लन दुई जना आरोपीहरुले प्रहरी समक्ष आत्मसमर्पण (सरेन्डर) गरेका छन् । गत जेठ २ गते बुटवलको कालिकानगर स्थित मोनटाना रेष्टुरेन्टमा बुटवल–७ का ३६ वर्षीय थापामाथी छुरा प्रहार गरिएको थियो । उपचारको क्रममा उनको असार १८ गते निधन भएको थियो ।
प्रराम्भिक अनुसन्धानमा घटनामा दुई जना बुटवलका किशोर कुँवर र कुस्मन कार्की संग्लन पाइएको र सोही दुई जनाले शुक्रवार आत्मसमर्पण गरेका रुपन्देहीको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए । आरोपीहरुले आत्मसमर्पण गरिसकेको अवस्थामा अनुसन्धान थप अघि बढाइने प्रहरीले जनाएको छ ।
बिहिवार मात्रै राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन बुझ्दै अर्यालले घटनाबारे फेरी के भयो भन्ने प्रश्न गर्ने ठाउँ नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर घटनामा संग्लन आरोपीहरुको खोजीकार्य जारी राखेको थियो ।