परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व

Ujyalosandeshonline 12579+ समाचार ( )
७ कार्तिक २०८३, शुक्रबार

पाल्पा । बिहानको शान्त वातावरणमा तानसेनका गल्ली, चोक र घरका ढोकामा सारङ्गीको मधुर धुनसँगै मालश्री गुञ्जियो । हातमा सारङ्गी र मनमा पुख्र्यौली संस्कृतिप्रतिको माया बोकेर तानसेन–६ का ७३ वर्षीय रामबहादुर गन्धर्व यस वर्ष पनि दशैँको नवरात्रमा मालश्री गाउन निस्कनुभयो । घटस्थापनादेखि नौ दिनसम्म उहाँ हरेक बिहान करिब ३ देखि ५ बजेसम्म तानसेनका गल्ली, चोक र घर–घरमा पुगेर सारङ्गी बजाउँदै मालश्री गाउनुभयो । उमेरले सात दशक पार गरे पनि उहाँको मालश्रीप्रतिको मोह घटेको छैन । उहाँका लागि मालश्री गीत मात्र नभई पुर्खाले छाडेर गएको सांस्कृतिक सम्पदा हो । 

विगतमा गन्धर्व समुदायका धेरै व्यक्तिले दशैँको नवरात्र सुरु भएसँगै मालश्री गाउँदै गाउँबस्ती पुग्ने गर्थे । तर, नयाँ पुस्ताले चासो नदिनु र पुराना पुस्ताका कलाकारको निधन हुँदै जानुले यो परम्परा हराउँदै गएको छ । रामबहादुरका अनुसार अहिले पाल्पा जिल्लामै मालश्री गाउने आफू एक्लो व्यक्ति हुनुहुन्छ । उहाँलाई आफूपछि यो परम्परालाई निरन्तरता दिने व्यक्ति नहुने चिन्ता छ । “पुराना सबै सकिए, नयाँले सिक्नै खोज्दैनन् । अब मपछि मालश्री गाउने पाउनै मुस्किल छ,” उहाँ भन्नुहुन्छ ।

उमेर बढ्दै गए पनि मालश्री गाउने र सारङ्गी बजाउने रहर भने उस्तै रहेको उहाँ बताउनुहुन्छ । तर, बुढ्यौलीका कारण पहिलेझैँ गाउँबस्ती पुगेर गीत गाउन सहज छैन । गन्धर्व समुदायको परम्परागत पेसा सारङ्गी बजाउने र गीत गाउने भए पनि पछिल्लो समय यो सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । अन्य पेसाबाट तुलनात्मक रूपमा राम्रो आम्दानी हुने भएकाले नयाँ पुस्ता वैकल्पिक रोजगारीतर्फ आकर्षित भएको समुदायका व्यक्तिहरू बताउँछन् ।

स्थानीय बाबुराम गन्धर्वका अनुसार आर्थिक अवसरको खोजीमा नयाँ पुस्ता अन्य पेसातर्फ लाग्दा पुर्खादेखि चल्दै आएको पेसाले निरन्तरता पाउन कठिन भएको छ । जीविकोपार्जनको चुनौतीले गर्दा संस्कृति जोगाउने चाहना हुँदाहुँदै पनि परम्परागत पेसालाई निरन्तरता दिन सहज नभएको उहाँको भनाइ छ । त्यस्तै, स्थानीय दिनेश गन्धर्व अहिलेको पुस्तामा मालश्री संरक्षणप्रति पर्याप्त चासो र महत्त्व देखिन नसकेको बताउनुहुन्छ । राज्यले संस्कृति संरक्षणमा चासो दिएर आवश्यक सहयोग गर्ने हो भने गन्धर्व समुदाय यो परम्परा जोगाउन तयार रहेको उहाँको भनाइ छ ।

मालश्रीको धुनसँग जोडिएको परम्परा हराउनु एउटा गीत हराउनु मात्र नभई समुदायको पहिचान, पुर्खाको ज्ञान, धार्मिक आस्था र सांस्कृतिक इतिहास कमजोर हुँदै जानु पनि हो । तानसेन सम्पदा संरक्षण समाजका अध्यक्ष पदमराज न्यौपानेले मालश्री संरक्षणका लागि नयाँ पुस्तालाई यस परम्पराको महत्त्व बुझाउन र उनीहरूलाई सिक्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार समाजले गन्धर्व समुदायका व्यक्तिहरूको समूह बनाएर सारङ्गी बजाउन र मालश्री गाउन सिकाउने विषयमा स्थानीय सरकारसँग पहल गरिरहेको छ ।

“मालश्रीको संरक्षणका लागि नयाँ पुस्तालाई यस परम्पराको महत्त्व बुझाउनु, सिक्ने वातावरण बनाउनु र यसमा संलग्न कलाकारलाई प्रोत्साहन गर्न स्थानीय सरकार, संस्कृति संरक्षणमा काम गर्ने निकाय र सम्बन्धित सरोकारवालासँग ठोस पहल थालेका छौँ,” अध्यक्ष न्यौपानेले भन्नुभयो । एक दशक अघिसम्म तानसेनका गाउँघर र बजारमा गन्धर्वले मालश्री गाएको सुन्ने र हेर्नेहरूको उत्साह देखिन्थ्यो । गाउँका चौतारी, कोटघर र शक्तिपीठमा मालश्री गुञ्जिँदा दशैँको रौनक थपिन्थ्यो । तर, अहिले ती ठाउँमा मालश्रीका धुन सुनिन छाडेका छन् । रामबहादुर गन्धर्वले आफ्नो प्रयासबाट यो परम्परालाई जीवित राख्नुभएको छ । उहाँपछि मालश्री गाउने व्यक्ति नहुने हो कि भन्ने चिन्तासँगै यो मौलिक संस्कृति जोगाउन नयाँ पुस्ताको सहभागिता र सम्बन्धित निकायको सहयोग आवश्यक देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार