सप्तरी । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी भारी मतान्तरका साथ विजयी भएका छन्। निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार चौधरीले जनता समाजवादी पार्टी (नेपाल) का राष्ट्रिय अध्यक्ष तथा 'हेभिवेट' नेता उपेन्द्र यादवलाई फराकिलो मतान्तरले स्तब्ध पार्दै सानदार जित दर्ता गराएका हुन्।
आयोगको तथ्याङ्क अनुसार विजयी उम्मेदवार रास्वपाका चौधरीले ३२ हजार ८ सय ७५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष यादवले भने १५ हजार २ सय ३९ मत मात्र प्राप्त गर्न सके। चौधरीले यादवलाई १७ हजार ६ सय ३६ मतको भारी अन्तरले पराजित गरेका हुन्। यस फराकिलो हारसँगै मधेश राजनीतिका शीर्ष नेता यादवलाई आफ्नै आधार क्षेत्रमा ठूलो धक्का लागेको छ।
जसपा अध्यक्ष यादवका लागि यो हारले अघिल्लो आम निर्वाचनको नमिठो इतिहासलाई पुनः ताजा गराइदिएको छ। यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि यादव सप्तरी क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले नै पराजित भएका थिए। आम निर्वाचनमा पराजय भएसँगै संसद् प्रवेश गर्ने उपयुक्त मौका पर्खिरहेका यादवले २०८० साल वैशाखमा भएको उपनिर्वाचनलाई माध्यम बनाएका थिए।
त्यसबेला बारा क्षेत्र नम्बर २ बाट अन्य दलहरूसँग चुनावी गठबन्धन गरी उनी बल्लतल्ल निर्वाचित हुँदै संसद् छिर्न सफल भएका थिए। तर, २०८२ को यस निर्वाचनमा पुनः पुरानै जिल्ला सप्तरी झरेका यादवले रास्वपाका उम्मेदवारबाट अनपेक्षित र भारी पराजय भोग्नुपरेको छ। यस परिणामले सप्तरीमा परम्परागत शक्तिलाई पछि पार्दै नयाँ राजनीतिक दलले बलियो पकड बनाएको सङ्केत गरेको छ।