भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ बिध्या पथबाट प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रुपन्देहीकै सियारी गाउँपालिका–२ का ४४ वर्षीय अजय चौधरी रहेका छन्। चोरीका मोटरसाइकललाई नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट पेस्तोल र सोही पेस्तोलमा लाग्ने चार राउण्ड गोली फेला परेको हो। साथै उनको साथबाट एउटै फोटो प्रयोग भएका दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्डसमेत बरामद गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।