काठमाडौँ । पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका सूचना अधिकारी सुरज घिमिरेले आज एक सूचना जारी गरी यही असोज ८ देखि १२ गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्र्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।
भारी वर्षाका कारण भू–क्षय, बाढी तथा पहिरोको जोखिम बढ्नाका साथै हिमाली भू–भागमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएकाले विशेष ख्याल राख्न विभागले सचेत गराएको छ । मौसम प्रणालीको प्रभाव विशेषगरी पदयात्रा तथा हिमाल आरोहणमा पर्नसक्ने सम्भावना रहेकाले पर्वतारोही, पदयात्री तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो । विभागले सो अवधिमा सम्भव भएसम्म यात्रा नगर्न÷नगराउन तथा यात्रा गर्नैपर्ने अवस्था भए सुरक्षित तवरले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।