गण्डकी।आगामी असोजदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र फ्लाई दुबईबीच सहकार्य प्रक्रिया अघि बढेको छ । पोखरा-दुबई उडान सेवाको प्रवर्द्धन र प्रचारप्रसारका लागि दुवै संस्थाका प्रतिनिधिबीच समझदारीपत्रमा आज हस्ताक्षर भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कडरिया र फ्लाई दुबईको नेपालस्थित जनरल सेल्स एजेन्टका तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईंले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । महानगरपालिका र फ्लाई दुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पर्यटन प्रवर्द्धन, गन्तव्यस्थलको बजारीकरण, अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको उहाँले जानकारी दिनुभयो ।
यस उडान पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । समझदारीअनुसार पोखरा महानगरपालिकाले उपलब्ध सार्वजनिक तथा प्रचारप्रसारका स्थानहरूमा १५ दिनसम्म निःशुल्क प्रचार स्थान उपलब्ध गराउने तथा महानगरपालिकाका आधिकारिक डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत पोखरा-दुबई उडानको प्रवर्द्धनमा सहयोग गर्नेछ ।
फ्लाई दुबईले प्रचारप्रसारका सामग्रीको डिजाइन, उत्पादन, छपाइ, ढुवानी, जडान तथा हटाउने जिम्मेवारी लिएको छ । पोखरा-दुबई नियमित हवाई उडानले पोखरालाई विश्वका विभिन्न गन्तव्यसँग थप सहज रूपमा जोड्ने महानगर प्रमुख आचार्यको भनाइ छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्दै अन्तरराष्ट्रिय गन्तव्यहरूसँग जोड्न महानगरले पहल सुरु गरिएको उहाँले बताउनुभयो ।
पोखरा-दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखराका पर्यटन व्यवसायीले पनि चासो र अग्रसरता देखाएका छन् । हालै नेपालका लागि संयुक्त अरब इमिरेटन्स (युएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी व्यवसायीहरूले पोखरा-दुबई नियमित उडानबारे छलफल गरेका थिए । पोखरा-दुबई उडानको निरन्तरता र दिगोपनाका विषयमा छलफल गरिएको थियो ।
केही समयअघि फ्लाई दुबईका नेपाल प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच पनि पोखरामा सोही विषयमा छलफल भएको थियो । सो अवसरमा पोखरा-दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकार भएका सबै पक्षको सहयोग महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । यस उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वाका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई-पोखरा-दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाई दुबईले उडान तालिम सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।
सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ । पोखरा-दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो ।
यसअघि चीन, भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो । पोखरा-दुबई उडानबाट पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ ।