भैरहवा । कुखुरापालनमा लागेको किसानहरुलाई मासु ब्यवसायीहरुबाट नै ठगि हुदै आएको खुलेको छ । रुपन्देहीमा तौल गर्दागर्दै तौलमा गडबडी गरिरहेको रंगेहात पक्राउ परेपछि यस्तो ठगिको रहस्य खुलेको हो ।
किसानहरुलाई रिमोटबाट चल्ने डिजिटल तराजुको प्रयोग गरेर ब्यापारी र सप्लायर्सले ठग्ने गरेको पाइएको छ । एक पिकअप गाडीमै एक क्विण्टल बढीको ठगी हुने गरेको किसानको आरोप रहेको छ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ सपहीका सुजित चौधरीले ईलाका प्रहरी कार्यालय धकधईमा उजुरी दिएका छन् । उनका अनुसार ४० दिनको कुखुरा तयार भएकोले चौधरीले बिहीबार बुटवलका व्यापारी र सप्लायर्सलाई बोइलर कुखुरा खरिद गर्न बोलाए ।
तीनवटा बलेरो पिकअप गाडी लिएर बुटवलको मदाने पोल्ट्री सप्लायर्सका दामोदर पौडेल र डिके पोल्ट्री सप्लायर्सका मदन पन्त, चौधरीको सम्राट पोल्ट्री फार्ममा आए । आफ्नै मजदुर ल्याएर आएका ती सप्लायर्सले तीनवटा गाडीमा १२ क्विन्टलका दरले कुखुरा रिमोटबाट चल्ने डिजिटल तराजुमा तौलेर राख्न थाले । तर, उनीहरुले लिएको तौल फार्म संचालक चौधरीलाई शंका लाग्यो । उनले पुनः तौल लिनुपर्ने बताउए । तर, ब्यापारीले मानेनन् ।
“फेरि तौल गर्न पर्यो भन्दा उहाहरुहरु झगडा गर्न थाल्नुभयो । मैले जबरजस्ती गरेर अन्य तराजुमा कुखुरा पुनः तौले” चौधरीले भने “पुनः तौलिँदा साढे तीन क्विन्टल कुखुरा ठगिएको थाहा भयो ।”
चौधरीका अनुसार तीनवटा गाडीमा एक क्विन्टल १५ किलोका दरले ३ क्विन्टल ४५ किलो कुखुरा ठगेको भेटियो । “ठगिएको थाहा पाएपछि मैले प्रहरी र अन्य किसान साथीहरुलाई खबर गरे” उनले भने “त्यसपछि कुखुरा गाडीबाट झारेर ब्यपारीले कुखुरा खरिद गर्न ल्याएका तीनवटा बलेरो किसानको सहयोगमा इलाका प्रहरी कार्यालय, धकधईको नियन्त्रणमा राखिएको छ ।
यस्तो समस्या अहिले देशभरि नै रहेको मासु ब्यवसायीहरुको भनाई छ । कुखुरा लिन आउने ब्यपारीहरुबाट किसानहरु ठगिने गरेको गुनासो देशैभरबाट आईरहेको मासु ब्यवसायी संघ रुपन्देहीका महासचिव बिशाल थापाले बताए । “रुपन्देहीमा रंगेहात समातिएकोले यो घटना बाहिर आयो ।” उनले भने “देशेभरिका कुखुरापालक किसानहरुलाई हामी सावधानी अपनाउन आग्रह गरेका छौं ।”
आर्थिक मन्दिमा परेका किसानहरुलाई यस्ता घटनाले बिस्थापित गराउने जोखिम रहेको मासु ब्यवसायीहरुको भनाई छ । बिहिबार मात्र भएको घटनाका पिडित चौधरीले गाडीमा लोड–अनलोड गर्दा २ क्विन्टल बढी कुखुरा मरेको गुनासो गरे । यसबाट चौधरीको ४० हजार बढी नोक्सानी भएको छ । “लोड–अनलोड गर्दा अरु कुखुरा पनि घाइते भएका छन्, अझै कति मर्छन्, अब हुर्काउनै समस्या हुन्छ ।” उहाले दुखेसो पोखे
प्रहरीलाई खबर गरेको थाहा पाए पछि सप्लायर्सले कुखुराको तौल लिन प्रयोग गरेको एउटा डिजिटल तराजु र रिमोट बुटवलतर्फ लगेर लुकाएको आरोप चौधरीको छ । एउटा तराजु भने नियन्त्रणमा लिएर किसानले प्रहरीलाई बुझाएका छन् ।
बाह्रैैमास बजारमा बोइलर कुखुराको मासुको माग राम्रो छ । तर, सधै थपघट भइरहने मूल्यका कारण लागतसमेत नउठ्दा किसान हैरानीमा छन् । त्यसैमाथि भारतीय सीमा क्षेत्रका किसान चोरीतस्करी भएर भित्रिने सस्तो कुखुरा र मासुले गर्दा अझै मारमा छन् । रुपन्देहीमा ४ सय बढी कुखुरापालक किसान छन् । यहाँ उत्पादित कुखुरा बाहिरी जिल्लामा पनि जाने गरेको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले चोरीतस्करीबाट जिउँदो कुखुरा र तयारी बोइलर मासु भित्रिँदा किसान यसै पनि मर्कामा छन् । अर्कातर्फ ब्यापारीले सस्तोमा कुखुरा खरिद गर्दा किसानले मुनाफा लिन सकिरहेका छैनन् । जसले गर्दा किसान सधैं घाटामा जाने र व्यापारीले मुनाफा आर्जन गरिरहेका छन् । यसैमाथि सप्लायर्स र व्यापारीले प्रविधिको प्रयोग गरेर तौल घटाई ठगी गर्न सुरु गरेपछि किसान विस्थापित हुने जोखिम झनै बढेको छ ।
यस बिषयमा आरोपित मदाने पोल्ट्री सप्लायर्स र डिके पोल्ट्री सप्लायर्सका प्रतिनिधिलाई सम्पर्क गर्दा उनिहरुले यस बिषयमा प्रतिक्रिया दिन मानेनन् ।
किसानको उजुरीपछि प्रहरीले तराजुको वास्तविकता बुझ्न गुणस्तर तथा नापतौल कार्यालय पठाएको छ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टले गुणस्तर तथा नापतौल कार्यालयको प्रतिवेदन पछि मात्र कार्यवाही प्रक्रिया अगाडी बढाउने बताए ।