भैरहवा । मिथिलाञ्चल समाज रुपन्देहीको आयोजना र मिथिलाञ्चल महिला समाज रुपन्देहीको सहआयोजनामा भैरहवामा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख मनोज यादवले मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिए।
समाजका अध्यक्ष अमरकुमार झा र महासचिव सियाराम यादवले भाषा, संस्कृति र सामाजिक एकता जोगाउन सबैको प्रयास आवश्यक रहेको बताए। दसैँको अवसरमा खेलिने झिझिया नृत्यको सांस्कृतिक र धार्मिक महत्त्वबारे उपाध्यक्ष विभा झाले प्रकाश पार्दै यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताइन्। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति दिनुभएका कलाकार तथा व्यक्तित्वहरूलाई नगदसहित सम्मान गरिएको थियो।