भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको केन्द्रबिन्दु धकधई बजारमा सार्वजनिक शौचालयको अभावले स्थानीय बासिन्दा, यात्रु र व्यापारीहरूले ठूलो सास्ती भोग्नुपरेको छ। विशेषगरी महिलाहरूका लागि यो समस्या झनै विकराल बनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सह-महामन्त्री ताहिर अलीले सामाजिक सञ्जालमार्फत यस विषयलाई जोडदार रूपमा उठाउँदै तत्काल सार्वजनिक शौचालय निर्माणका लागि जनप्रतिनिधिहरूलाई अपिल गर्नुभएको छ।
अलीका अनुसार, धकधई बजारमा सार्वजनिक शौचालयको अभावले रोहिणी गाउँपालिकाको इज्जतमा समेत आँच पुगेको छ। उहाँले अन्य बजेट कटौती गरेर भए पनि तत्काल सार्वजनिक तथा घुम्ती शौचालय निर्माण गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई अनुरोध गर्नुभएको छ। "रोहिणी गाउँपालिकाको इज्जत र मर्यादाका लागि पनि धकधईमा सार्वजनिक शौचालय अपरिहार्य छ," अलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
गाउँपालिकाको सदरमुकाम धकधईलाई 'स्मार्टसिटी' बनाउने नारा कागजमा मात्र सीमित भएको स्थानीयहरूको गुनासो छ। सार्वजनिक शौचालयको अभावले धकधई बजार आउने यात्रु, पर्यटक, किनमेल गर्न आउने ग्राहक र बजारका व्यापारीहरू समेत मारमा परेका छन्। महिलाहरूलाई त झनै शौच गर्नका लागि उपयुक्त स्थान नपाउँदा असहजता उत्पन्न भएको छ।
गौतम बुद्धको मावलीघर देवदह र नवलपरासीको रामग्राम स्तूपा पुग्ने पर्यटकहरू धकधई हुँदै जाने भएकाले यहाँ सार्वजनिक शौचालयको आवश्यकता झनै टड्कारो देखिन्छ। रोहिणी खोला बुद्धसँग सम्बन्धित भएकाले पनि यो क्षेत्रको ऐतिहासिक र पर्यटकीय महत्व छ। यस्तो महत्वपूर्ण स्थानमा समेत सामान्य पूर्वाधारको अभाव हुनु लज्जास्पद भएको स्थानीयहरू बताउँछन्।
स्थानीय बासिन्दाहरूले स्थानीय सरकारलाई जनताले अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका छन्। एउटा सामान्य सार्वजनिक शौचालय समेत नहुँदा गाउँपालिकामा कस्तो विकास भयो होला भन्ने प्रश्न खडा भएको छ। निर्वाचित जनप्रतिनिधिहरूले यस विषयमा गम्भीर ध्यान दिई तत्काल समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको छ। अन्यथा, धकधईको यो समस्याले गाउँपालिकाको समग्र विकासमाथि नै प्रश्नचिह्न खडा गर्ने निश्चित छ।