बागमती । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’ बन्द भएको छ । लोपोन्मुख वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी, वनकवरिया समुदायको आर्थिक उत्थान र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको होमस्टे पर्यटकको अभावमा बन्द भएको हो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई बसेको घरलाई स्तरवृद्धि गरी मनहरी गाउँपालिकाको रु पाँच लाखको सहयोगमा गत २०७७ सालमा निर्माण गरिएको दुई कोठे होमस्टेको बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गर्नुभएको थियो । पर्यटकको अभावसँगै उचित संरक्षण हुन सक्दा वनकरिया होमस्टेको संरचना जीर्ण अवस्थामा पुगेको स्थानीय आरती वनकरियाले बताउनुभयो ।
“गाउँपालिकाले लगानी गरेपछि हामीले बाँस र परालको छाप्रो हालेर लिपपोत गरी चिटिक्क परेको होमस्टे बनाइयौँ”, आरती वनकरियाले भन्नुभयो, “सुरुको केही वर्षसम्म काठमाडौँ, हेटौँडा, पोखरालगायतका ठाउँबाट अध्ययन गर्न थुप्रै सङ्ख्यामा विद्यार्थी र अनुसन्धानकर्ता आउनुहुन्थ्यो, हाम्रै होमस्टेमा लोकल कुखुराको मासु खाने र रमाइलो गर्नुहुन्थ्यो ।” कहिलेकाहीँ त ठूला दलका नेताहरु पनि हाम्रो होमस्टेमा आउनुहुन्थ्यो, सुरुमा होमस्टे राम्रै चलिरहेथ्यो, तर पछिल्लो केही वर्षयता पर्यटक आउने क्रम घटेकाले होमस्टे बन्द गर्नुपरेको आरतीको भनाइ छ ।
तर विस्तारै पर्यटक आउन छाडेपछि लामो समयदेखि प्रयोगमा नआउँदा होमस्टेको संरचना कमजोर भएको स्थानीय विष्णुमाया वनकरियाले बताउनुभयो । उहाँका अनुसार बाँसले बारिएको संरचना चिराचिरा परेकोले होमस्टेमा बस्न सक्ने अवस्था छैन । वनकरिया समुदायको परिकारसहित अन्य रैथाने परिकार उपलब्ध गराउने र वनकरिया समुदायको आयआर्जनमा टेवा पु¥याउन व्यावसायिक रुपमा सञ्चालन गर्ने गरी निर्माण गरिएको होमस्टे यतिबेला जीर्ण अवस्थामा रहेको विष्णुमायाले बताउनुभयो ।
“सरकारले हामीलाई जङ्गली जीवनबाट मुसेधापस्थित बस्तीमा स्थानान्तरण गएपछि हाम्रो विषयमा अध्ययन गर्न सुरु सुरुमा थुप्रै पर्यटकहरु आउथ्यो”, वनकरिया बस्तीका अगुवा सन्तोषी वनकरियाले भन्नुभयो, “त्यतिबेला होमस्टे राम्रै चल्यो, तर पछिल्लो दुई वर्षदेखि पर्यटकहरु आउनै छाडेकाले होमस्टे जीर्ण भएको, त्यसैले हामी होमस्टे बन्द ग¥यौँ ।” पर्यटकको चहलपहल नहुँदा होमस्टेको संरक्षण र मर्मतमा मात्र खर्च गर्नुपर्ने र उत्पादनहीन बन्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
वनकरिया बस्तीलाई पर्यटकीय गन्त्व्यको रुपमा विकास गर्ने सोका साथ होमस्टे सञ्चालन गरिए पनि पर्यटकको अभावमा होमस्टे सोचे अनुकूल चल्न नसक्दा बन्द गर्नुपर्ने बाध्यता भएको सन्तोषीले बताउनुभयो । “पहिलो कुरा त होमस्टे चलाउन पर्यटक चाहिन्छ, पर्यटक नै नआएपछि पैसा भएन र होमस्टेलाई व्यवस्थित रुपमा चलाउन सकिएन्”, सन्तोषीले भन्नुभयो, “दोस्रो कुरा गाउँपालिकाले होमस्टे लगाउन लगानी त ग¥यो, तर पर्यटन प्रवद्र्धन गर्ने ठोस कार्यक्रम ल्याएनन्, जसका कारण विस्तारै पर्यटक आउनै छाड्यो ।” वनकरिया बस्तीसम्म पर्यटकलाई ल्याउन सकिने गरी कार्यक्रम बनाउन सकिए अझै पनि होमस्टे राम्रोसँग सञ्चालन हुनसक्ने उहाँको कथन छ ।
नेपालकै लोपोन्मुख वनकरिया समुदायको बस्ती हेर्न र घुम्न आउने पाहुनालाई खाना खुवाउने व्यवस्था भए पनि राति बास बस्न सक्ने अवस्था नहँुदा होमस्टे धारासायी भएको स्थानीयको भनाइ छ । होमस्टे सञ्चालनसँगै त्यसको दिगोपन र व्यवस्थापनमा ध्यान दिन नसक्दा वनकरिया होमस्टे सङ्कटमा परेको मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापाले बताउनुभयो । “होमस्टे त बनायो तर त्यसलाई दिगो र व्यवस्थित रुपमा कसरी सञ्चालकहरुले भने विषयमा सोचिएन्”, वडाअध्यक्ष थापाले भन्नुभयो, “जसको फलस्वरुप वनकरिया बस्तीको पहिचान झल्किने गरी बनाइएको होमस्टे बन्द हुन पुग्यो ।” वनकरिया बस्तीको होमस्टे बन्द भएपनि छिट्टै वनकरियाको होमस्टे सञ्चालनका लागि पहल भइरहेको वडाध्यक्ष थापाले बताउनुभयो ।
कुनै बेला पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा फिरन्ते जातको रुपमा चिनिने लोपोन्मुख वनकरिया जातिलाई सरकारले २०६२ सालमा जङ्गली जीवनबाट मानव बस्तीमा सारिएको हो । उक्त बस्तीमा २४ घरपरिवार वनकरिया समुदायको बसोबास छन् । जिल्ला वन कार्यालय मकवानपुरले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर जमिन उपलब्ध गराएको थियो । त्यहीँ ठाउँमा ती जातिका व्यक्तिहरु करिब २० वर्षदेखि बन्दै आएका छन् । २०७८ सालको जनगणनाअनुसार वनकरिया जातीको कूल जनसङ्ख्या १८० र मतृभाषा बोल्ने जनसङ्ख्या ८६ मात्र छ ।
वनकरिया जातिको नेपालको त्यो बस्तीमा मात्र बसोबास रहेको वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताउनुभयो । उक्त बस्तीमा हाल ४५ जना महिला र ४६ जना पुरुष गरी ९१ जना वनकरिया रहेको सन्तोषीको भनाइ छ । उहाँका अनुसार ती बस्तीका ९१ जनामध्ये ५० जनाको नागरिकता बनिसकेको र २६ जनाको मतदाता नामावलीमा समेत नाम छ । केही वर्षअघिसम्मका फिरन्ते वनकरियाले अहिले खेतीपातीसँगैै कुखुरा, बाख्रा र भैँसी पालेका छन् भने कोही ज्याला मजदुरीको काम गर्ने गर्छन् ।