मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र हुने सार्वजनिक तथा व्यक्तिगत कार्यक्रमहरूमा डिजेको प्रयोग गर्न पूर्ण रूपमा निषेध गरेको छ। प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै पूर्वस्वीकृति वा छुट्टै सूचना जारी नभएसम्मका लागि डिजेको प्रयोगमा रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनाअनुसार मोरङ जिल्लाभित्र आयोजना हुने कुनै पनि मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका समारोहमा डिजे बजाउन पाइने छैन ।
जिल्लामा शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले यो कदम चालिएको प्रशासनले जनाएको छ। सूचनाको बेवास्ता गरी डिजेको प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्नका लागि सूचनाको पूर्ण पालना गरी सहयोग गर्न सम्पूर्ण जिल्लावासीसँग आग्रह गरेको छ।