ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा आदिवासी जनजाति महासंघ रुपन्देही-३ को कार्यसमिति सर्वसम्मत चयन

Ujyalosandeshonline 11144+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

भैरहवा । नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, क्षेत्रीय कार्यसमिति, क्षेत्र नं.३,रुपन्देहीको प्रथम क्षेत्रीय अधिवेशनले ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

सोमबार भैरहवामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सुष्मा प्रधान र मनोहर राजभण्डारी, सचिवमा राकेश गुरुङ र खुम बहादुर घर्ती, सह-सचिवमा रिना पुन र कुल बहादुर राना तथा कोषाध्यक्षमा विनिता श्रेष्ठलाई चयन गरेको हो। नवगठित कार्यसमितिका सदस्यहरूमा भिष्म रेश्मी मगर, टिका राना, द्रोपदी पुन, शशि राना, चन्द्र बहादुर पुन, इसिका चौधरी, गौरी थापा, गणेश दगामी, नरेश दंगोरिया र सुष्मा भुजेल घर्ती रहनुभएको छ।

अधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई यस पदमा पुर्याउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै नयाँ कार्यसमितिले काँग्रेसलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आदिवासी जनजातिहरू नेपालको भूमिपुत्र भएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि, काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले काँग्रेस बहुलवादमा विश्वास गर्ने पार्टी भएको बताउनुभयो। उहाँले विश्वमा एउटै मात्र जाति वा नेता नहुने विचार व्यक्त गर्दै भन्नुभयो, "फरक मतलाई सम्मान नगर्ने, एकल भाषा, विचार र पार्टीको नीति अप्राकृतिक हो। सबैको पहिचानको सम्मान हुनुपर्छ।" खाणले विविधतालाई प्रजातन्त्रले स्वीकार गर्ने र यसको व्यवस्थापन राज्यको दायित्व भएको बताउनुभयो। उहाँले सक्षम समुदायले असक्षमलाई साथमा लिएर हिँड्नु नै प्रजातान्त्रिक समाजवादको मूल मर्म भएको उल्लेख गर्नुभयो।

खाणले नेपालको वर्तमान राजनीतिक अवस्थामा काँग्रेसले अन्य दलको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै "काँग्रेस बिनाको राजनीति नुन बिनाको तरकारी जस्तै हुन्छ," भन्नुभयो। कार्यक्रमका विशिष्ट अतिथि, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम बहादुर घर्ती मगरले काँग्रेस सरकारमा हुँदा आदिवासी जनजातिको हितमा धेरै काम भएको दाबी गर्नुभयो। उहाँले आदिवासी जनजातिलाई नेपालको गहनाको संज्ञा दिनुभयो।

त्यसैगरी, काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आदिवासी जनजातिको आफ्नै पहिचान रहेको बताउँदै आफ्नो अधिकारका लागि संगठित हुन आग्रह गर्नुभयो।महासमिति सदस्य छन्द बहादुर पहराईले काँग्रेसलाई थप बलियो बनाउनुपर्ने र रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनमा काँग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो

कार्यक्रममा काँग्रेस क्षेत्र नं. ३ का सभापति सुशील गुरुङ, सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्का, नेपाल मगर संघका केन्द्रीय सदस्य प्रेम कामु मगर, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रम नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघकी केन्द्रीय सदस्य रुपमाया पुनको स्वागत तथा विनिता श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार