मुख्य समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित | गृहिणी होइन, अब उद्यमी: सिद्धार्थनगरका महिलाको नयाँ परिचय | पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित | लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने | रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग | बालक हत्या गरेको आरोपमा एक जना पक्राउ | एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता | सप्तरीमा घुस रकमसहित निमित्त कार्यालय प्रमुख र चालक नियन्त्रणमा | रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा |
मुख्य समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित | गृहिणी होइन, अब उद्यमी: सिद्धार्थनगरका महिलाको नयाँ परिचय | पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित | लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने | रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग | बालक हत्या गरेको आरोपमा एक जना पक्राउ | एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता | सप्तरीमा घुस रकमसहित निमित्त कार्यालय प्रमुख र चालक नियन्त्रणमा | रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा |


गृहिणी होइन, अब उद्यमी: सिद्धार्थनगरका महिलाको नयाँ परिचय

राधेश्याम विश्वकर्मा 57+ समाचार ( )
२३ असार २०८३, मङ्गलबार

भैरहवा । कुनै समय घरधन्दा, भान्साकोठा र परिवारको जिम्मेवारीमै सीमित रहेकी सिद्धार्थनगर–१३ की दीपा श्रेष्ठ राजभण्डारी आज आफ्नै पसल सञ्चालन गर्ने उद्यमी बनेकी छन् । अर्कोतर्फ, सामान्य गृहिणीकै जीवन बिताइरहेकी माला शाह अहिले लाखौँ रुपैयाँको कारोबार गर्ने व्यवसायी मात्र होइन, अन्य महिलालाई सीप सिकाउने प्रशिक्षकको पहिचानसमेत बनाएकी छन् । 

यी दुई महिलाको सफलताको कथा केवल व्यक्तिगत संघर्षको परिणाम होइन, स्थानीय सरकारले सञ्चालन गरेको सीपमूलक तालिमले अवसर पाए महिलाले आफ्नो जीवन आफैँ बदल्न सक्छन् भन्ने सन्देश पनि हो । 

सिद्धार्थनगर नगरपालिकाले पछिल्ला वर्षहरुमा सञ्चालन गरेका धुप, ब्याग, बुटिक, माला, पोते लगायतका सीपमूलक तालिमले धेरै महिलालाई स्वरोजगारतर्फ डोर्‍याएको छ । यद्यपि, यस्ता कार्यक्रमबाट कति महिला लाभान्वित भए, कतिले व्यवसाय सुरु गरे र कति सफल भए भन्ने आधारभूत तथ्यांक भने नगरपालिकासँग नै छैन ।

गृहिणीबाट उद्यमी

केही वर्षअघि दीपाको दिनचर्या अरु धेरै गृहिणीजस्तै थियो । बिहानदेखि साँझसम्म घरको काम, परिवारको हेरचाह र भान्साकोठामै उनको समय बित्थ्यो । 

“म पहिला घरमा खाना पकाउने, केटाकेटी हेर्ने र घरायसी काम गर्ने एउटा सामान्य गृहिणी मात्रै थिएँ,“ उनी विगत सम्झिन्छिन् । उनको जीवनमा मोड आयो, जब वडा कार्यालयमार्फत महिलाका लागि सीपमूलक तालिम सञ्चालन भयो । पहिले उनले एक साताको आधारभूत तालिमबाट ब्याग, चप्पल र धुप बनाउन सिकिन् । त्यसपछि नगरपालिकाको समन्वयमा करिब डेढ महिनाको उच्चस्तरीय तालिम लिइन् । त्यहाँ उनले विभिन्न प्रकारका हस्तकलाका सामग्री, माला, बुटिकका सामान तथा सुगन्धित धुप उत्पादन गर्ने व्यावसायिक सीप हासिल गरिन् । 

सीप सिकेर उनी घरमै बसेर रोकिइनन् । अहिले सिद्धार्थनगरको शान्तिनगरमा आफ्नै पसल सञ्चालन गर्दै धुप, अगरबत्ती, हस्तनिर्मित ब्याग, माला तथा बुटिकका सामग्री उत्पादन र बिक्री गरिरहेकी छन् । 

बजारबाट तयार धुलो खरिद गरेर त्यसमा कपुर, ल्वाङलगायत प्राकृतिक सुगन्ध मिसाई गुणस्तरीय धुप तयार गर्ने उनको आफ्नै शैली छ । ग्राहकको मागअनुसार लुगासँग मिल्ने माला र ब्यागसमेत अर्डरमा बनाइदिने गरेको उनी बताउँछिन् । 

“अहिले मेरो हात कहिल्यै खाली हुँदैन । एउटा काम नभए अर्को काम गर्छु । आफ्नै देशमा बसेर कमाउन सकेकी छु । यसभन्दा ठूलो खुसी के हुन सक्छ ?” उनी मुस्कुराउँदै भन्छिन् । 

दश हजारबाट लाखौँसम्म

दीपाको जस्तै परिवर्तनको अर्को उदाहरण हुन् माला शाह बस्नेत । नगरपालिकाबाट पोते तथा माला बनाउने तालिम पाएपछि उनले सासू–ससुराको प्रोत्साहनमा करिब १० हजार रुपैयाँ लगानी गरेर सिनपा–२ मेउडिहवामा व्यवसाय सुरु गरिन् । आज उनको पसलमा एक लाख रुपैयाँभन्दा बढीको लगानी पुगिसकेको छ । 

सामान्य डिजाइनका ५० वटासम्म माला उनी एक दिनमै तयार गर्न सक्छिन् । हेभी डिजाइनका माला भने दैनिक तीन–चारवटा मात्रै बनाउन सम्भव हुने उनी बताउँछिन् । तिज, विवाह तथा विभिन्न चाडपर्वमा अर्डरको चाप यति धेरै हुने गर्छ कि कहिलेकाहीँ ग्राहकलाई पर्खाउनुपर्ने अवस्था आउने गरेको उनको अनुभव छ । 

“पहिला केही पनि आउँदैनथ्यो । अहिले यही सीपले मेरो पहिचान बनाइदिएको छ,” उनी भन्छिन् । 

व्यवसायसँगै अहिले उनी विभिन्न स्थानमा पुगेर प्रशिक्षकका रुपमा पनि महिलालाई सीप सिकाइरहेकी छन् । “आफूले सिकेको कुरा अरुलाई सिकाउन पाउनु सबैभन्दा ठूलो सन्तुष्टि हो,” उनले सुनाइन् ।

महिलालाई आत्मनिर्भर बनाउने स्थानीय सरकारको प्रयास

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी महिलालाई आर्थिक रुपमा सक्षम बनाउन सीपमूलक तालिमलाई प्राथमिकतामा राखिएको बताउँछिन् । उनका अनुसार नगरपालिकाले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा महिला सशक्तीकरणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको छ । 

“माला शाहजस्ता उद्यमीहरूले शून्यबाट लाखौँको व्यवसाय खडा गरेको देख्दा हामीलाई गौरव लागेको छ । उहाँहरुको सफलता अरु महिलाका लागि प्रेरणा हो,” उपप्रमुख अधिकारी भन्छिन् । 

उनले आगामी दिनमा तालिमसँगै बजार व्यवस्थापन, व्यवसाय विस्तार तथा दक्ष महिलालाई नै प्रशिक्षकका रुपमा परिचालन गर्ने नीति लिइएको जानकारी दिइन् । नगरपालिकाले महिला, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक अल्पसंख्यकको नाममा दर्ता हुने निजी फर्मलाई दर्ता शुल्कमा छुट दिने, निजी क्षेत्रसँग साझेदारीमा स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने, व्यवसायको एकीकृत तथ्यांक तयार गर्ने तथा आगामी आर्थिक वर्षदेखि नगरपालिकाबाटै प्यान दर्ता सेवा उपलब्ध गराउने तयारी गरेको पनि उनले बताइन् ।

तर तथ्याङ्कमा कमजोर स्थानीय सरकार

सीपमूलक तालिमको प्रभाव देखिने गरी सफल उद्यमी जन्मिए पनि उनीहरुको संख्या कति छ भन्ने प्रश्नको उत्तर भने नगरपालिकासँग छैन । 

यस फिचरका लागि नगरपालिकाबाट महिला उद्यमीसम्बन्धी तथ्याङ्क लिन खोज्दा सम्बन्धित शाखादेखि विभिन्न शाखासम्म पटक–पटक धाउँदा पनि कुनै आधिकारिक विवरण उपलब्ध हुन सकेन ।

उपप्रमुखको सचिवालयबाट भने चालु आर्थिक वर्षमा महिला लक्षित सीपमूलक कार्यक्रमका लागि ६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको जानकारी प्राप्त भयो। तर, उक्त रकमबाट कति तालिम सञ्चालन भए, कति महिला सहभागी भए, कति व्यवसाय स्थापना भए वा कति उद्यमी अहिले सक्रिय छन् भन्ने अभिलेख नगरपालिकाले उपलब्ध गराउन सकेन । 

स्थानीय सरकार सञ्चालन ऐनले योजना निर्माण, अनुगमन र मूल्यांकनका लागि तथ्यांक व्यवस्थापनलाई महत्वपूर्ण जिम्मेवारी माने पनि सिद्धार्थनगर नगरपालिकामा यस पक्षमा अझै सुधार आवश्यक देखिन्छ । 

प्रेरणादायी कथा, सुधारको आवश्यकता

दीपा श्रेष्ठ राजभण्डारी र माला शाहजस्ता महिलाले अवसर पाएपछि सीपलाई आयआर्जनमा रुपान्तरण गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् । उनीहरुको यात्राले स्थानीय सरकारले सञ्चालन गर्ने सीपमूलक तालिम केवल औपचारिक कार्यक्रम नभई सही कार्यान्वयन भएमा आर्थिक रुपान्तरणको माध्यम बन्न सक्ने देखाएको छ । 

तर यस्ता सफलताको संस्थागत अभिलेख नराख्ने प्रवृत्तिले कार्यक्रमको वास्तविक प्रभाव मूल्यांकन गर्न कठिन बनाएको छ । कति महिला आत्मनिर्भर बने, कति व्यवसाय टिके र कति रोजगारी सिर्जना भयो भन्ने स्पष्ट तथ्यांकबिना नीति निर्माण र भविष्यका कार्यक्रम प्रभावकारी बनाउन चुनौती रहने देखिन्छ । 

सफल उद्यमीहरूको कथा जति प्रेरणादायी छ, त्यत्तिकै आवश्यक छ स्थानीय सरकारले उनीहरुको उपलब्धिलाई व्यवस्थित रुपमा अभिलेखीकरण गरी प्रमाणमा आधारित नीति निर्माण गर्नु । किनभने परिवर्तनका यस्ता कथाले केवल एक व्यक्तिको जीवन मात्र होइन, सम्पूर्ण समुदायको आर्थिक सम्भावनालाई पनि नयाँ दिशा दिन सक्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार