नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका–१० स्थित गैँडाखाल लवकेश्वर सिँचाइ आयोजना सञ्चालनमा आएपछि स्थानीय किसानलाई कृषि उत्पादनमा ठूलो सहजता भएको छ। जङ्गलबाट बगेर आउने खोलाको पानीलाई बाँधमार्फत सङ्कलन गरी सिँचाइ सुविधा उपलब्ध गराइएपछि धान, गहुँ र तोरी खेती गर्न किसानलाई राहत पुगेको हो।
सुनवल–१० मा रहेको यस आयोजनाबाट छिमेकी रामग्राम नगरपालिका–१४ सम्मका खेतबारीमा समेत सिँचाइ सुविधा पुगेको र सयौँ किसान प्रत्यक्ष लाभान्वित भएको वडाध्यक्ष ओमप्रकाश यादवले बताए। यसअघि आकाशे पानीमा निर्भर रहनुपर्ने बाध्यता हटेको र हिउँदमा गहुँ तथा तोरी खेती गर्न सहज भएको उनको भनाइ छ।
करिब ५ सय मिटर लम्बाइको जलासय र ५० हेक्टर क्षेत्रफलमा बनेको सिमसारले स्थानीय वातावरण संरक्षण तथा जङ्गली जनावरलाई पानी पिउनसमेत सहयोग पुर्याएको छ।जङ्गलबाट बगेर खेर जाने यस्ता खोलामा बाँध बाँधेर सिँचाइ प्रणालीमा परिणत गर्न सके तराईका किसान लाभान्वित हुने र कृषि उत्पादन बढेर मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा समेत टेवा पुग्ने वडाध्यक्ष यादवले विश्वास व्यक्त गरे।