भैरहवा । पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनामा नियन्त्रणमा लिइएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान रिहा हुनुभएको छ । सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा सोमबार राति नियन्त्रणमा लिइएका खान र अर्का आरोपी वाजिउद्दिन मुसलमानलाई प्रहरीले मंगलबार दिउँसो रिहा गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाई फकरुद्दिन खाँनको जिम्मामा उहाँहरूलाई छाडिएको संयोजक खानले बताउनुभयो । रिहा भएपछि पत्रकारसँग कुरा गर्दै खानले लुम्बिनीको हकहित, संरक्षण र विकासका लागि सरकारको कार्यशैलीविरुद्ध आफ्ना शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी रहने स्पष्ट पार्नुभयो । शान्तिपूर्ण रूपमा माग राख्न र कानुनको सम्मान गर्ने प्रतिबद्धता जनाउँदै उहाँले लुम्बिनीको नाममा राजनीति बन्द गर्न सरकारसँग माग गर्नुभएको छ ।